रियल मड्रिडसँग च्याम्पियन्स लिगको फाइनल खेल्ने रोनाल्डोको चाहना !

एजेन्सी, मंसिर २६
इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू्नो पूर्वक्लब रियल मड्रिडसँग च्याम्पियन्स लिगमा चाँडै भेट नहोस् भन्ने चाहको बताएका छन् । गत राति समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर लेभरकुसेनलाई उसकै घरमा ०–२ ले हराउनेक्रममा १ गोल गरेका उनले खेलपछि मिडियासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

रोनाल्डो सन् २०१८ मा रियल मड्रिडको ९ वर्षको बसाइ बिट मार्दै युभेन्टस पुगेका थिए । उनी सो क्लबबाट पनि च्याम्पियन्स जित्ने अभियानमा छ । तर, पहिलो सिजन भने युभेन्टस अन्तिम आठभन्दा अघि बढ्न सकेन ।

यसपटक युभेन्सट समूह चरणबाट ठीकठाक विजेता बनेर अन्तिम १६ मा पुगेको छ । तर, युभेन्टसको भेट अन्तिम १६ मै रियल मड्रिडसँग हुने प्रबल सम्भावना छ । यदि त्यसो भए रोनाल्डो पहिलोपटक पूर्वक्लबविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ मै भिड्नेछन् । युभेन्टसले अन्तिम १६ मा रियल मड्रिडसहित इंग्लिस क्लब टोटनह्याम, जर्मन क्लब बोरसिया डर्टमुन्ड, फ्रेन्च क्लब लियोन र इंग्लिस क्लब चेल्सीमध्ये एकसँग भिड्नुपर्ने हुन्छ ।

पूर्वक्लब रियलसँग अन्तिम १६ मै भिडन्त हुने सम्भावनाबीच रोनाल्डोले अहिले नै सो ड्र नपरोस् भन्ने आफूले चाहेको बताएका छन् । उनले फाइनलमा रियलसँग भेट हुँदा आफ्ना लागि उचित हुने बताए । ‘रियल मड्रिड ? एक शानदार टिम,’ पत्रकारले सोधेको प्रश्नमा रोनाल्डोले भनेका छन्, ‘व्यक्तिगत रूपमा म उनीहरूसँग अलि पछि मात्रै भेट होस् भन्ने चाहन्छु । उनीहरूसँग फाइनलमा भेट हुँदा राम्रो हुनेछ ।’

रोनाल्डो सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल पुगेका थिए । ९ वर्ष स्पेनमा बिताउँदा उनले रियलका लागि कूल ४३८ खेल खेल्दै ४५० गोल गरे । उनी रियलको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी हुन् । रोनाल्डोले रियलबाटै चारपटक च्याम्पियन्स लिग र चारपटक बालोन डि‘ओर अवार्ड जितेका थिए । उनले रियलमा छँदा च्याम्पियन्स लिगमा कूल १०५ गोल गरेका थिए ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार २०:५५
Loading...