मैदान छिरेका फ्यानले रोनाल्डोको ‘गर्दन’ समातेपछि ……. (हेरौं तस्बिरहरू)

एजेन्सी, मंसिर २६
हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्ना समर्थकहरूका लागि निकै उदार खेलाडीमा पर्छन् । विशेष अवस्थाबाहेक उनी आफ्ना फ्यानहरूलाई थोरै भए पनि समय दिन्छन् । कुरा गर्छन्, अटोग्राफ दिन्छन् वा सेल्फी दिन्छन् । अझ बालबालिकासँग त रोनाल्डो झनै नजिक हुन्छन् । बालबालिकाप्रति उनको विशेष लगाव र माया हुन्छ । विभिन्न समयमा यो देखिँदै आएको छ ।

विभिन्न समयमा चलिरहँदा फ्यानहरूले खेल नै रोकिने गरी मैदान छिरेर रोनाल्डोसँग भेट गर्ने गरेका छन् । सुरक्षाकर्मीको घेरा तोडेर रोनाल्डो नजिक पुगेका त्यस्ता फ्यानले अक्सर निराश हुनु पर्दैन । त्यस्ता फ्यानका लागि उनले प्रहरीलाई रोकेर भए पनि मैदानमै समय दिन्छन् । आफ्ना आइडल खेलाडीलाई भेटेर अंकमाल गर्ने वा सेल्फी लिने उनीहरूको सपना पूरा गरिदिन्छन् । कति फ्यानलाई त रोनाल्डोले खेलपछि भेटेरै पनि जर्सी उपहार दिएका सन्दर्भ छन् ।

यस्तो स्वभाव र पहिचान भएका रोनाल्डोलाई गत राति च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेल जर्मन क्लब बायर लेभरकुसेनविरुद्ध उसकै घरमा खेलिरहँदा भने केही फरक अवस्थामा देखियो । उनी पटक–पटक गोलको अवसरबाट चुक्दा निकै निराश र विचलित देखिन्थे । उनको १ गोल रद्द हुनु र दुई सहज मौकामा चुक्दा रोनाल्डो आफैंसँग आक्रोशित देखिन्थे ।

त्यसैबेला खेल चलिरहँदा एकजना हैन, तीन–तीन जना फ्यान प्रहरीको घेरा तोडेर मैदान छिरे । जहाँ सुरुआतमा मैदान छिरेका एक फ्यानको भने सपना पूरा भयो– तनावपूर्ण अवस्थामा भए पनि रोनाल्डोले उनीसँग सेल्फी लिए । र, अंकमाल गरेर हाँसीखुसी बिदा गरे ।

त्यसपछि फेरि दोस्रा फ्यान उही शैलीमा मैदान छिरे । उनी दौडिँदै रोनाल्डोतिर अघि बढे । तर, रोनाल्डोसँग भेट हुँदा–नहुँदै उनलाई प्रहरीले समातेर बाहिर लागिहाल्यो । रोनाल्डो त्यसबेला खुसी देखिएनन् । तैपनि, उनी फ्यानलाई सेल्फी दिन चाहन्थे । तर, प्रहरीले लगिहाल्यो ।

फ्यान मैदान छिर्नेक्रम त्यत्तिमै रोकिएन । रोनाल्डोको १ गोलको मदतमा युभेन्टसले ०–२ ले जितेको खेलको समय सकिएको सिटी रेफ्रीले फुक्नासाथ अर्का फ्यान पनि उस्तै पारामा बेगिएर प्रहरीको आँखा छल्दै रोनाल्डोतर्फ हानिए । प्रहारीबाट तर्किंदै रोनाल्डो नजिक पुगेका ती फ्यानले हतारमा पछाडिबाट रोनाल्डोको गर्दनको भागमा समाते । रोनाल्डोले ती फ्यान आफूतिर आएको देखेका थिएनन् । त्यसबेला रोनाल्डो सहकर्मीसँग कुरा गरिरहेका थिए ।

त्यसैबेला अचानक पछाडिबाट आएर आफूलाई समाएका फ्यानलाई प्रहारीले घम्साघम्सी गर्दै तानेपछि रोनाल्डोको शरीर पनि सँगै तानियो, जुन कुरा रोनाल्डोलाई मन परेन । र, उनी रिसाए । उनले तत्कालै रिसाउँदै फ्यानको व्यवहारको प्रतिवाद गरे । उनले पछाडिबाट समातेकोमा फ्यानँसग असन्तुष्टि जनाए ।

ती फ्यानले गर्धनमा जोडले समातेपछि रोनाल्डोको छाला पिल्सिएको–कोतारिएको भिडियोमा देख्न सकिन्छ । रोनाल्डोले त्यत्तिबेलै चोट लागेको महसुस गरिरहेका थिए । पछि प्रहरीले ती फ्यानलाई समातेर लगे ।

लगत्तै अर्का फ्यान झन् तीव्र गतिमा दौडिँदै आए । तर, उनी भने पाउलो डिबालालई भेट्न आएका थिए । तर, ती फ्यान डिबालासम्म पुग्न नपाई प्रहरीले समातेर लग्यो ।

सामान्यतः खेल चलिरहेका बेला मानिस मैदानमा छिर्नु खेल नियम र अनुशासनबिपरीत हो । यो खेलको सुरक्षासँग जोडिएको विषय हो । यस्ता सम्भावित गतिविधिलाई रोक्न भनेरै खेल मैदान र रंगशालामा ठूलो संख्यामा प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको हुन्छ ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार १५:५६
Loading...