यस्ता छन् च्याम्पियन्स लिग जित्ने मेस्सीका तीन योजना

एजेन्सी, मंसिर २६
स्पेनिस क्लब बार्सिलोनाले सन् २०१५ मा ट्रिबेल उपाधि जित्दा च्याम्पियन्स लिग जितेयता पुनः सो प्रतियोगिताको फाइनल पुग्न सकेको छैन । ऊ पछिल्ला चार सिजन लगातार प्रतियोगिताको फाइनल नपुगी आउट हुँदै आएको छ । पछिल्ला दुई सिजन त ऊ लज्जास्पद हार व्यहोर्दै प्रतियोगिताबाट आउट भयो ।

जारी सिजन बार्सिलोना जसरी पनि क्लबमा ‘युरोपियन उपाधिको शान’ फर्काउने अभियानमा छ । तर, उसको बाटो सहज छैन । किनभने, उसले उपाधि होमडमा युरोपकै उत्कृष्ट टिमको सामना गर्नुपर्ने हुन्छ । बार्सिलोनालाई गत सिजन इंग्लिस क्लब लिभरपुलसँग सेभिफाइनलमा भोगेको ४–० को हारको पीडा आलै छ ।

जारी सिजन बार्सिलोना समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ । अब नकआउट चरणमा उसले इंग्लिस क्लब टोटनह्याम, चेल्सी, इटालियन नापोलीमधये कुनै टिम प्रतिस्पर्धी पाउन सक्छ ।

यो सिजन बार्सिलोनाले कसरी च्याम्पियन्स लिगको यात्रा गर्दैछ ? वा, कसरी उपाधि जित्न सक्छ ? यसबारे कप्तान मेस्सीले बार्सिलोना निकट मानिने पत्रिका ‘मुन्डो डेपोर्टिभो’सँगको ताजा अन्तर्वार्तामा बताएका छन् । मेस्सीले यो सिजन तीन कुरालाई प्रमुख ध्यानमा राख्नुपर्ने औंल्याएका छन् ।

पहिलो– मेस्सीले टिम र खेलाडी पछिल्ला दुई सिजन त्यसमा पनि गत सिजनको खराब हारको ‘ह्याङ’बाट बाहिर आउनुपर्ने बताएका छन् । ‘इमान्दारीसाथ भन्नुपर्दा गत सिजन लिभरपुलसँग ४–० को हार हाम्रो दिल र दिमागमा अझै आलै छ । यो निकै पीडादयाी थियो । तर, अब हामी यो सिजन उपाधि जित्न चाहन्छौं भने त्यो खराब नतिजा बिर्सनुपर्छ । हामीले विगतका सबैखाले निराशा बिर्सनुपर्छ । र, नयाँ ढंगले अघि बढ्नुपर्छ,’ मेस्सीले भनेका छन्, ‘नत्र, फेरि पनि हाम्रा पुरानै दोहोरिन सक्छन् । तर, हामी विगतका गल्तीबाट पाठ सिक्न भने तयार हुनुपर्छ ।’

दोस्रो– मेस्सीले यसपटक च्याम्पियन्स लिगमा अझै कडा प्रतिस्पर्धा हुने हुँदा टिम थप एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । ‘च्याम्पियन्स लिग हरेक सिजन झन् कठिन बन्दै गइरहेको छ । अहिले एकसे एक टिम उपाधि होडमा छन् । तपाईं कुनै पनि टिमलाई कमजोर आँक्न सक्नुहुन्न । यस्तो बेला कुनै एक वा दुई खेलाडीको बलले टिम अघि बढ्दैन । हरेक खेलाडी र सिंगो टिम एकताबद्ध भएर अघि बढ्नुपर्छ । टिमका लागि सबैले आ–आफ्नो भूमिकाबा १०० प्रतिशत दिनुपर्छ ।’

तेस्रो– मेस्सीले अबका दिनमा खेलाडीलाई शारीरिक रूपमा फिट राख्नु अतिआवश्यक रहेको बताए । ‘अब सिजनका कठिन दिन सुरु हुँदैछन् । लिग मध्यभागतिर जाँदैछ भने च्याम्पियन्स लिगमा नकआउट चरण सुरु हुँदैछ । यी दिन निकै दबाबपूर्ण र चुनौतीपूर्ण छन् । तसर्थ हामीले अबका दिनमा हरेक खेलाडीलाई शारीरिक रूपमा फिट राख्न ध्यान दिनुपर्छ । जब तपाईं शारीरिक रूपमा तयार हुनुहुन्न भने टिमलाई योगदान दिन सक्नुहुन्न ।’

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार १४:३८
Loading...