च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सीको रेकर्ड पछ्याउँदै नेइमार

एजेन्सी, मंसिर २६
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा गत राति फ्रेन्च क्लब पिएसजीले गालातासरेलाई ५–० ले हरायो । सोक्रममा ब्राजिलियन स्टार नेइमारले १ गोल गर्नुका साथ २ गोलमा असिस्ट पनि गरे । सो खेलको गोल र असिस्टसँगै नेइमार अब बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्यिानो रोनाल्डोको एक रेकर्ड नजिक पुगेका छन् ।

च्याम्पियन्स लिगमा एकै खेलमा गोल र असिस्ट दुवै सबैभन्दा धेरैपटक गर्ने रेकर्ड रोनाल्डोको नाममा छ । उनले हालसम्म कूल ११ खेलमा गोल र असिस्ट दुवै गरेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो ।

त्यसपछि बार्सिलोनाका मेस्सी छन् । मेस्सीले यस प्रतियोगिताअन्तर्गत एकै खेलमा गोल र असिस्ट जम्मा १० खेलमा गरेका छन् । तर, अब पिएसजीका नेइमारले पनि यस प्रतियोगितामा एकै खेलमा गोल र असिस्ट दुवै गरेको कूल खेल संख्या ९ पुगेको छ ।

उनी अब रोनाल्डो सो रेकर्डबाट दुई र मेस्सीको रेकर्डबाट एक खेलले टाढा छन् । गत राति गरेका गोलसँगैै च्याम्पियन्स लिगमा नेइमारको कूल गोल ३३ पुगेको छ । उनले कूल ५५ खेल खेल्दै ३३ गोल गरेका हुन् ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ११:३७
Loading...