नेइमार र एमबाप्पे चम्किँदा पिएसजीको शानदार जित : पाँच खेलाडीको गोल

काठमाडौं, मंसिर २६
फ्रेन्च क्लब पिएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा शानदार जित निकालेको छ । ब्राजिलियन स्टार नेइमार र फ्रेन्च स्टार केलियन एमबाप्पेले १ गोल गर्नुका साथै २–२ गोलमा असिस्ट गरेपछि गत राति भएको खेलमा पिएसजीले टर्किस क्लब गालातासरेलाई आफ्नो घरमा ५–० को हार चखायो ।

पिएसजीको जितमा नेइमार र एमबाप्पे नायक बने । उनीहरूले गोल गर्दै कूल ४ गोलका लागि पाससमेत मिलाए । खेलमा ५ जना फरक–फरक खेलाडीले गोल गरे । पिएसजीले २ गोल पहिलो हाफ र बाँकी ३ गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ३२औं मिनेटमा माउरो इकार्डीको गोलबाट पिएजीले अग्रता लिएको थियो । सो गोलमा एमबाप्पेले असिस्ट गरेका थिए । त्यसपछि ३५औं मिनेटमै पाब्लो सराबियाले गोल गरेर खेल २–० बनाए । सराबियाको गोलमा नेइमारले असिस्ट गरेका थिए ।

त्यसपछि दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै नेइमारले सुन्दर गोल गरे पछि खेलमा पिएसजीले ३–० को अग्रता बनायो । सो गोलमा एमबाप्पेले असिस्ट गरेका थिए ।

पिएसजी त्यत्तिमै अडिएन । खेलको ६३औं मिनेटमा एमबाप्पेले गोल हाने । सो गोलमा पनि नेइमारले नै असिस्ट गरेका थिए । त्यसपछि खेलको ८४औं मिनेटमा सब्सिच्युट खेलाडी इडिसन काभानीले पेनालटीमार्फत् गोल गरेपछि खेल पिएसजीले ५–० ले जित्यो ।

यस समूह ‘ए’बाट पिएसजी कूल १६ अंकसहित समूह विजेता बनेर अन्तिम १६ मा जाँदा रियल मड्रिड ११ अंकसहित उपविजेता बनेर अर्को चरण पुग्यो ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ०७:१८
Loading...