स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, मंसिर २५
अघिल्लो दिन सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

त्यस्तै, एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ । अर्थात् एक स्वर्ण जित्नेले ९ लाख पाउँदा एक भन्दा बढी जित्नेलाई कूल ११ लाख दिइनेछ ।

त्यसैगरी, टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

त्यसैगरी, रजत पदक जित्नेलाई ६ लाख र काँस्य पदक जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । यता, टिम इभेन्टमा रजत जित्ने खेलाडीले कति पुरस्कार पाउने भन्ने चैं घोषणा गरिएको छैन । टिम म्यानेजर र अन्य सहयोगीले पाउने रकमबारे पनि खुलाइएको छैन ।

नेपालले आयोजना गरेको सागमा नेपालले सबैखाले प्रतियोगितामा गरी कूल ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य गरी कूल २०६ पदक जितेको थियो ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १८:४४
Loading...