शानदार जितसहित नापोलीलाई ‘अन्तिम १६ मा पुर्‍याएको अवसर’मा प्रशिक्षक नै बर्खास्त !

एजेन्सी, मंसिर २५
इटालियन क्लब नापोली गत राति समूह चरणको अन्तिम खेलमा जिन्कलाई ४–० को फराकिलो अन्तरले हराउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्यो । तर, टिम शानदार अवस्थाबाट च्याम्पियन्स लिगको नकआउट चरण पुगेको केही घन्टा पनि नबित्दै क्लबले भने प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई बर्खास्त गरेको छ ।

धेरैले नापोलीको यस निर्णयलाई आश्चार्यजनक कदमका रूपमा लिएका छन् । सामान्य अवस्थामा प्रशिक्षक बर्खास्तमा पर्दा समर्थकहरूले नापोलीको बोर्डको आलोचना गरेका छन् ।

नापोलीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रशिक्षकलाई प्रमुख जिम्मेवारीबाट मुक्त गरेको पुष्टि गरेको छ । तर, उसले बर्खास्त गर्नुपर्ने कारण भने केही पनि खुलाएको छैन । एन्सेलोट्टी आक्रामक खेल शैलीका लागि निकै सिपालु मानिन्छन् । उनले विगतमा स्पेनिस रियल मड्रिडलाई समेत प्रशिक्षण दिइसकेका छन् ।

बर्खास्तमा परेपछि एन्सेलोट्टी इंग्लिस क्लब आर्सनलको प्रशिक्षक बन्ने सम्भावना छ । आर्सनलले गत साता प्रमुख प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेपछि सो पोस्ट खाली छ ।

नापोली च्याम्पियन्स लिगको समूह चरणमा एक खेल पनि नहारी अन्तिम १६ मा प्रवेश गरेको हो । उसले तीन खेल जित्यो भने तीन खेल बराबरी गरेको थियो । सो समूहबाट इंग्लिस क्लब लिभरपुल समूह विजेता बनेर अर्को चरण गयो । यता, घरेलु लिगमा भने नापोली २१ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १५:०६
Loading...