शानदार जितसहित नापोली च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, मंसिर २५
इटालियन क्लब नापोली युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति समूह चरणको अन्तिम खेलमा जिन्कमाथि ४–० को शानदार जित निकाल्दै नापोलीले अन्तिम १६ को यात्रा तय गरेको हो ।

सो खेलअघि समूह ‘ई’बाट लिभरपुल, रेड बुल र नापोली तीन वटै टोलीको अन्तिम १६ मा जाने ढोका खुला थियो । तर, जिन्कलाई नापोलीले आफ्नो घरमा हराएर प्रतियोगितामा एक कदम अघि बढायो ।

नापोलीले एकपक्षीयजस्तै बनाएको खेलमा अर्काड्युज मिलिकले ह्याट्रिक गरे । अर्को १ गोल ड्रिएज मार्टिन्सले पेनाल्टीमार्फत् गरे । मिलिकले खेलको तेस्रो मिनेटमै पहिलो गोल गरेर टिमलाई अग्रता दिलाउँदा उनले २६औं मिनेटमा दोस्रो गोल गरे । पछि ३८औं मिनेटमा उनले पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

त्यसपछि खेलको ७४औं मिनेटमा नापोलीले अर्को पेनाल्टी पायो । सो पेनाल्टी भने मार्टिन्सले प्रहार गरे । र, गोल पनि गरे । उनको गोलसँगै नापोलीले खेल ४–० ले जित्यो ।

नापोली आफ्नो समूहको उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । उसले जम्मा १२ अंक बनायो । नापोली समूह चरणमा एक खेल पनि नहारी अन्तिम १६ मा पुगेको हो । सो समूहबाट इंग्लिस क्लब लिभरपुल समूहको विजेता बनेर अर्को चरणमा पुग्यो ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार ०७:४९
Loading...