लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, मंसिर २५
युरोपियन च्याम्पियन्स लिगको साबिक विजेता इंग्लिस क्लब लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति समूह चरणको अन्तिम खेलमा अस्ट्रियन क्लब रेड बुललाई ०–२ ले हराउँदै लिभरपुलले अन्तिम खेलबाट मात्रै नकआउट चरणको यात्रा पक्का गरेको हो ।

सो खेलअघि समूह ‘ई’बाट लिभरपुल, रेड बुल र इटालियन नापोली तीन वटै टोलीको अन्तिम १६ मा जाने ढोका खुला थियो । तर, रेड बुललाई लिभरपुलले उसकै घरमा हराएर प्रतियोगितामा एक कदम अघि बढायो ।

अवे मैदानमा लिभरपुललाई जिताउनेक्रममा खेलको ५७औं मिनेटमा नाबी केइटाले पहिलो गोल गरेका थिए । लगत्तै ५८औं मिनेटमा मोहमद सालाहले गोल गरेपछि खेल लिभरपुलले ०–२ ले जित्यो ।

यो जितपछि लिभरपुल ६ खेलबाट १३ अंकसहित समूह विजेता बनेर अर्को चरण पुग्दा इटालियन नापोली १२ अंकसहित उपविजेता बनेर अर्को प्रवेश गरेको छ । रेड बुल भने मात्रै ७ अंकसहित तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार ०७:३५
Loading...