बार्सिलोनासँग हारेपछि इन्टर मिलान च्याम्पियन्स लिगबाट आउट : फाती बने भिलेन !

काठमाडौं, मंसिर २५
इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै आउट भएको छ । गत राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनासँग आफ्नै घरमा १–२ ले हारेपछि मिलान प्रतियोगिताको समूह चरणबाटै आउट भएको हो ।

आफ्नो घरमा अनिवार्य जितको दबाब लिएर उत्रिए पनि मिलानले उत्कृष्ट प्रदर्शन गर्न सकेन । त्यसमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गरेका २ गोलले मान्यता नपाउँदा पनि मिलानलाई घाटा भएको थियो । मार्टिनेजको ती गोलमा भिएआरसमेत प्रयोग नगरिँदा मिलानका खेलाडी निकै बेखुसी देखिएका थिए ।

बार्सिलोनाका लागि खेलको २३औं मिनेटमा कार्लेस पेरेजले गोल गरेका थिए । गोल खाएर पछि परेको मिलान सुआतमै दबाबमा पर्न गयो । तर, खेलको ४४औं मिनेटमा मिलानले गोल फर्कायो । बेल्जियन खेलाडी रोमेलु लुकाकुले शानदार प्रहारमा गोल गरेपछि पहिलो हाफ १–१ मा टुंगियो ।

तर, दोस्रो हाफमा मिलानले पोस्ट जोगाउन सकेन । ८५औं मिनेटमा पहिलो गोलकर्ता खेलाडी पेरेजको स्थानमा मैदान छिरेका अन्सु फातीले निकै शानदार गोल गरे । उनले मैदान पसेको १ मिनेटकै लुइस स्वारेजको पासमा सुन्दर गोल गरेपछि खेलमा बार्सिलोनाले अग्रता बनायो । सो गोलसँगै फाती च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

त्यसपछि बाँकी समयमा मिलानले गोल गर्न नसक्दा खेल बार्सिलोनाले १–२ ले जित्यो । यसअघि अन्तिम खेलअघि नै अन्तिम १६ मा पुगिसकेको बार्सिलोनाका लागि यो जित औपचारकिता मात्रै थियो । तर, यो जित मिलानका लागि भने अन्तिम १६ मा लैजाने पुल थियो । तर, आफ्नो घरमा पराजित भएपछि मिलान प्रतियोगिताबाटै बिदा भयो ।

समूह ‘एफ’मा बार्सिलोना १४ अंक बनाएर अर्को चरण जाँदा मिलान ७ अंकसहित तेस्रोमा मात्रै रह्यो । जर्मन क्लब बोरुसिया डर्टमुन्ड १० अंकसहित उपविजेता बनेर अन्तिम १६ मा गयो ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार ०३:४०
Loading...