काठमाडौं, मंसिर २४
नेपालमा जारी १३औं एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको फाइनल खेल आयोजक नेपाल र पाहुना टोली भुटानबीच अहिले जारी छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ३ बजेबाट सुरु भएको खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।
नेपालका लागि खेल सुरु भएको १७औं मिनेटमा युवा फरवार्ड अभिषेक रिजालले गोल गरे । बक्समा भएको अवसरमा कुनै गल्ती नगरी अभिषेकले बललाई जाली चुमाएपछि नेपालले सुरुआतमा खेलमा अग्रता बनायो ।
तर, खेलको ३७औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गरेपछि पहिलो हाफ १–१ मा सकिएको हो ।
१५ हजार घरेलु समर्थकको साथ पाएको नेपालले भुटानविरुद्ध प्रभावशाली प्रदर्शन गरिरहेको छ । रंगशालामा नेपालको राष्ट्रिय झन्डासहित पुगेका हजारौंको संख्याका नेपाली दर्शकले ‘नेपाल–नेपाल’ भन्दै नेपाली खेलाडीलाई हौसला दिइरहेका छन् ।
पहिलो हाफमा नियमित कप्तान सुजल श्रेष्ठ चोट बोकेर मैदान छाडेका छन् । अहिले कप्तानी विक्रम लामाले गरिरहेका छन् ।
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार १५:४६