‘इएल क्लासिको’को तयारी : जिदानद्वारा प्रमुख खेलाडीलाई आराम

एजेन्सी, मंसिर २४
युरोपियन च्याम्पियन्स लिग फुटबलमा भोलि राति रियल मड्रिडले समूह चरणको अन्तिम खेल बेल्जियमको क्लब ब्रुगीसँग खेल्दैछ । सो खलका लागि प्रशिक्षक जिनेदिन जिदानले भने टोलीका केही प्रमुख खेलाडीलाई विश्राम दिएका छन् । रियल सो खेलका लागि अवे मैदानमा उत्रिनेछ ।

डिसेम्बर १८ मा ला लिगामा हुने यो सिजनको पहिलो इएल क्लासिको भिडन्तका लागि तयारी गर्न जिदानले टोलीका प्रमुख खेलाडीलाई आराम दिने निर्णय गरेका हुन् । जसमा कप्तान सर्जियो रामोस र टोनी क्रुसलाई टोलीमा राखिएको छैन । रियलका लागि रक्षापंक्ति सम्हाल्ने रामोस प्रमुख पर्खाल हुन् भने क्रुस मिडफिल्डका प्रमुख खेलाडी हुन् ।

यी दुई प्रमुख खेलाडी टोलीमा नहुँदा यसअघि टोलीमा नरहेका डिफेन्डर नाचो र फरवार्ड ग्यारेथ बेल भने टोलीमा फर्किएका छन् । उनीहरू चोटमुक्त हुँदै टोलीमा फर्किएका हुन् । अन्य बाँकी सबै खेलाडी टोलीमा छन् ।

तर, ब्रुगीविरुद्ध उत्रिने टोलीमा पनि जिदानले केही फेरबदल गर्नेछन् । अर्थात्, केही प्रमुख खेलाडीलाई बेन्चबाट खेलाउन सक्छन् । यस खेलमा करिम बेन्जेमा बेन्चमा रहेर लुका जोभिकले सुरुआत गर्ने सम्भावना छ ।

रियल समूह ‘ए’बाट यसअघि नै समूह विजेता बनेर अन्तिम १६ मा गइसकेकाले यो खेलको हारले उसलाई खास फरक पर्नेछैन । जिदानको ध्यान अहिले बार्सिलोनकोविरुद्धको खेलमा केन्द्रित छ । सो खेल बार्सिलोनाको घरमा हुनेछ ।

प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार १२:४०
Loading...