च्याम्पियन्स लिग : बार्सिलोनालाई हराएर अन्तिम १६ मा जाने इन्टर मिलानको दाउ

काठमाडौं, मंसिर २४
युरोपियन च्याम्पियन्स लिगमा आज समूह चरणअन्तर्गत अन्तिम राउन्डका खेल हुँदैछन् । आज हुने आठ खेलमा केही टोलीले अन्तिम १६ मा जान निर्णायक खेल खेल्दैछन् । त्यसमध्ये इटालियन इन्टर मिलान स्पेनिस बार्सिलोनासँग निर्णायक भिडन्त गर्दैछ ।

सोही समूहबाट जर्मन क्लब बोरुसिया डर्टमुन्ड पनि आजै हुने आफ्नो अन्तिम खेलमा स्लाभिया प्रहालाई हराएर अन्तिम १६ मा जाने दाउमा छ । समूह ‘एफ’बाट बार्सिलोना यसअघि नै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ । अब मिलान र डर्टमुन्डध्येबाट एक टिम अर्को चरण जानेछ ।

यसअघि नै अन्तिम १६ मा पुगिसकेको बार्सिलोना ११ अंकसहित शीर्ष स्थानमा छ । ७ अंक भएको मिलान दोस्रो स्थानमा छ भने समान ७ अंक नै भएको डर्टमुन्ड तेस्रोमा छ । समान अंक भए पनि डर्टमुन्ड गोल अन्तरमा मिलानभन्दा पछि छ ।

आज मिलानले आफ्नो घरमा बार्सिलोनालाई स्वागत गर्दैछ । यसअघि नै अन्तिम १६ पुगिसकेकाले बार्सिलोनाले आज मिलानविरुद्ध प्रमुख खेलाडीबिनाकै टोली उतार्ने तयारी गरेको छ । यसको फाइदा मिलानले आफ्नो घरमा उठाउन सक्छ । मिलानको दाउ आज बार्सिलोनालाई स्पष्ट गोलअन्तरमा हराएर अर्को चरण जानु हो ।

तर, यदि मिलान आफ्नो घरमा बार्सिलोनासँग हारेको खण्डमा अर्को खेलमा डर्टमुन्डले बराबरी मात्रै गरे पनि मिलान आउट हुन्छ । त्यस्तै, मिलान बार्सिलानासँग बराबरीमा रोकिए र अर्को खेलमा डर्टमुन्डले स्पष्ट जित निकाले पनि मिलान आउट हुनेछ । तसर्थ अन्तिम १६ को यात्रा निश्चित गर्न मिलानलाई जित नै आवश्यक छ ।

यता, डर्टमुन्ड पनि आफ्नो घरमा चेक क्लब स्लाभियासँग खेल्दा जितकै खोजीमा हुनेछ । तर, ऊमाथि बढी दबाब हुनेछ । डर्टमुन्डलाई अन्तिम १६ मा जान स्लाभियामाथि फराकिलो जित आवश्यक पर्छ । यदि अर्को खेलमा मिलान बार्सिलोनासँग हारे वा बराबरीमा रोकिएको खण्डमा डर्टमुन्डले आफ्नो खेल झिनो अन्तरले जिते पनि अन्तिम १६ मा जानेछ ।

यदि आज मिलान बार्सिलोनासँग हारे डर्टमुन्डका लागि फाइदाको कुरा हुनेछ । यदि मिलान विजयी भए डर्टमुन्डलाई भने फराकिलो अन्तरमा जित चाहिन्छ । डर्टमुन्ड भर्सेस स्लाभिया तथा मिलान भर्सेस बासिलोनाको खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार ११:०२
Loading...