काठमाडौं मंसिर २४
नेपालमा जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुरुष फुटबलतर्फ फाइनल खेल हुँदैछ । स्वर्ण पदकका लागि आफ्नो भूमिमा पाँचौंपटक फाइनल खेल्न लागेको नेपालले सागको इतिहासमै पहिलोपटक फाइनल पुगेको भुटानको सामना गर्दैछ ।
फाइनल खेल काठमाडौंस्थित दशरथ रंगशालामा नेपाली समयअनुसार दिउँसो ठीक ३ बजेबाट सुरु हुनेछ । खेलको लाइभ नेपाल टेलिभिजनले दिनेछ ।
आज आफ्नो भूमिमा उत्रिँदा नेपाल तेस्रोपटक सागको च्याम्पियन बन्ने दाउमा छ । नेपालले हालसम्म साग फुटबलको स्वर्ण दुईपटक जितेको छ । यसअघि नेपालले सन् १९९३ मा पहिलोपटक सागको स्वर्ण जित्दा २०१६ मा पनि पनि स्वर्ण जितेको थियो । नेपालले भारतलाई उसकै भूमिमा हराएर स्वर्ण पदक जितेको थियो ।
आज आफ्नो घरमा उत्रिँदा नेपाल ‘अन्डरडग’ भुटानलाई हराएर तेस्रोपटक स्वर्ण चुम्ने दाउमा छ । नेपाल र भुटान लिग चरणमा समूहको पहिलो र दोस्रो स्थानमा रहेर फाइनल पुगेका हुन् । नेपाल पहिलो बनेको थियो भने भुटान दोस्रो बनेको थियो ।
नेपालका लागि भुटान सहज प्रतिस्पर्धी मानिन्छ । भुटानसँगका अधिकांश खेल नेपालले जितेको छ । भुटान हाल फिफा वरीयतामा १८९औं थानमा छ भने नेपाल १७०औं स्थानमा रहेको छ ।
आज दशंरथ रंगशालामा भुटानविरुद्ध स्वर्णका लागि भिड्दा नेपालका लागि यो पाँचौं फाइनल खेल हुनेछ । तर, भुटान भने पहिलोपटक फाइनल पुगेको टोली हो । नेपाललाई आज रंगशालामा १५ हजार घरेलु समर्थकले साथ दिनेछन् ।
यसअघि लिग चरणमा नेपालले भुटानलाई ४–० को हराइसकेको छ । तसर्थ फाइनल खेलमा नेपालले भुटानलाई सहज रूपमा हराउने अपेक्षा गरिको छ । प्रतियोतितामा नेपालले पहिलो खेलमा भुटानलाई ४–० हराउँदा दोस्रो खेल श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । त्यसपछि बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल लगातार दोस्रोपटक साग फुटबलको फाइनल खेल्न लागेको हो ।
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार ०७:४६