प्रिमियर लिग : चार खेलपछि आर्सनलको जित

काठमाडौं, मंसिर २४
पछिल्लो समय खराब अवस्थाबाट गुज्रिरहेको आर्सनलले चार खेलपछि जित निकालेको छ । प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेपछि आर्सनलले पहिलो जित निकाल्नेक्रममा गत राति अवे मैदानमा वेस्ट ह्यामलाई १–३ ले हरायो ।

खेलमा अग्रता भने घरेलु टोली वेस्ट ह्यामले लिएको थियो । उसका लागि ३८औं मिनेटमा एङ्लो ओग्बोन्नाले गोल गरेका थिए । त्यसपछि खेलको ६० देखि ६९औं मिनेटको बीचमा आर्सनलले लगालग ३ गोल हान्यो । ६०औं मिनेटमा आर्सनलका लागि ग्याब्रिएल मार्टिनेल्लीले बराबरी गोल फर्काए भने ६६औं मिनेटमा निकोलास पेपेले गोल गरेपछि खेलमा आर्सनलले अग्रता बनायो ।

त्यसपछि खेलको ६९औं मिनेटमा पियरे इमरिक अउबामेयाङले गोल गरेपछि खेल आर्सनलले जित्यो । अब यो जितपछि आर्सनलले १६ खेलबाट २२ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । पराजित वेस्ट ह्याम १६ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार ०७:२२
Loading...