‘मेस्सीसँग ६ बालोन डि‘ओर छन्, रोनाल्डोसँग दुई अन्तर्राष्ट्रिय उपाधि छन्’

एजेन्सी, मंसिर २३
स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीले वर्ष २०१९ को बालोन डि‘ओर जितेसँगै उनको कूल अवार्ड संख्या ६ पुगेको छ । तर, उनका खास प्रतिस्पर्धी इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग मात्रै ५ बालोन डि‘ओर छन् । यसपटक मेस्सीले छैटौं अवार्ड जितेपछि उनी सबैभन्दा बढी बालोन डि‘ओर जित्ने खेलाडी बनेका छन् ।

तर, यसपटक अवार्ड भिडन्तमा तेस्रो मात्रै बनेका रोनाल्डोकी दिदीले भने आफ्ना भाइको बचाउ गर्दै उनीसँग मेस्सीको भन्दा अन्य फरक उपलब्धि पनि रहेको बताएकी छन् । दिदी काटिया एभेइरोले पोर्चुगिज मिडियासँग कुरा गर्दै यस्तो बताएकी हुन् ।

‘तपाईं अवार्ड र उपाधिकै कुरा गर्नुहुन्छ भने ठीकै छ । लिओनल मेस्सीसँग ६ वटा बालोन डि‘ओर अवार्ड छन्, जुन क्रिस्टियानोसँग छैन,’ माटियाले भनेकी छन्, ‘क्रिस्टियानोसँग दुई अन्तर्राष्ट्रिय उपाधि छन्, लिओनलसँग एउटा पनि छैन, यो कुरा तपाईंलाई थाहा छ कि छैन ?’

माटियाले क्रिस्टियानोका लागि पाँचौं बालोन डि‘ओर नै अन्तिम नहुने पनि बताइन् । ‘मलाई विश्वास छ, उनका लागि पाँचौं बालोन डि‘ओर नै अन्तिम होइन । उनले अझै थुप्रै कुरा जित्नेछन्,’ माटियाले थपिन् ।

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार २०:०९
Loading...