भारतसँग हारेपछि प्रशिक्षक खड्काद्वारा राजीनामा : दुई खेलाडीले लिए सन्यास

काठमाडौं, मंसिर २३
नेपालको राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले जिम्मेवारीबाट राजीनामा दिएका छन् । नेपालमा जारी दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको फाइनल खेलमा नेपाल भारतसँग हारेपछि प्रमुख प्रशिक्षक खड्काले पद छाड्ने घोषणा गरेका हुन्

आज पोखरा रंगशालामा भएको फाइनल खेलमा पाहुना टोली भारलते नेपाललाई २–० ले हराएर स्वर्ण पदक जित्दा नेपाल रजतमै सीमित भएको थियो । आज भारतलाई हराएर नेपालसामु स्वर्णको इतिहास रच्ने अवसर थियो । तर, नेपाली टोलीले आफ्नै भूमिमा भएको खेल हारेपछि निराश बन्यो ।

खेलपछि आयोजित पत्रकार सम्मेनमा सहभागी हुँदै प्रशिक्षक खड्काले हारको जिम्मेवारी लिँदै पद छाड्ने घोषणा गरेका हुन् । सोक्रममा उनले आफू प्रशिक्षकको जिम्मेवारीबाट हटे पनि नेपाली फुटबलको विकासमा सधैं साथ रहने पनि बताए ।

कप्तान थापासहित दुई खेलाडीको सन्यास

नेपालको महिला फुटबल टोलीकी कप्तान निरु थापाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छन् । त्यसैगरी, मनमाया लिम्बूले पनि सन्यास घोषणा गरेकी छन् ।

आज साग महिला फुटबलमा भएको भारतविरुद्धको फाइनल खेलमा पराजित भएसँगै कप्तान थापा र डिफेन्डर लिम्बूले एकैपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १८:५२
Loading...