बार्सिलोना सरुवाबारे मुख खोले मार्टिनेजले

एजेन्सी, मंसिर २३
स्पेनिस क्लब बार्सिलोनाले आगामी समर सिजनमा इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजलाई भित्र्याउन गम्भीरतापूर्वक चासो बढाएको छ । हाल मिलानमा चम्किरहेका २३ वर्षीय फरवार्डलाई बार्सिलोना आफ्ना ३२ वर्षीय उरुग्वेन फरवार्ड लुइस स्वारेजको उत्तराधिकारी बनाउन चाहन्छ ।

बार्सिलोनालाई यो अपेक्षा छ कि, मार्टिनेज अर्जेन्टिनाकै खेलाडी भएकाले उनलाई बार्सिलोना सरुवाका लागि आफ्ना कप्तान लिओनल मेस्सी मनाउन सक्छन् वा फकाउन सक्छन् । राष्ट्रिय टोलीबाट मेस्सीसँग आक्रमण लाइनमा सँगै खेल्ने मार्टिनेजलाई बार्सिलोनाले सबैभन्दा सही खेलाडीका रूपमा हेरेको छ ।

तर, मार्टिनेज स्वयंले भने आफ्नो सरुवा विषयको च्याप्टर नै बन्द गरिदिएका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले आफू इन्टरमा निकै खुसी रहेको बताउँदै सोही क्लबबाट आफूले सफलता बटुल्ने बताएका छन् । उनले इन्टरलाई आफने घर पनि भनेका छन् । मार्टिनेजमाथि बार्सिलोनासँग इंग्लिस क्लब म्यानचेस्टर सिटीले पनि आँखा लगाइरहेको छ ।

‘इन्टर मेरो घर हो । यो मेरा लागि केही विशेष र निकै महत्त्वपूर्ण छ,’ मार्टिनेजले भने, ‘म यहाँ निकै खुसी छु । र, हामी यो टिमबाट थुप्रै सफलता पाउन सक्छौं ।’

मार्टिनेजले आफ्ना लागि एन्टोनियो कोन्टे एकदमै उचित प्रशिक्षक रहेको पनि बताए । ‘म जसरी खेल्छु, त्यसका लागि कोन्टे एकदमै उचित म्यानेजर हुन् । उनी जसरी टिम र खेलाडीलाई नेतृत्व गर्छन्, त्यसले युवा खेलाडीलाई निकै फाइदा पुग्छ,’ मार्टिनेजले भने, ‘कोन्टे एक शानदार प्रशिक्षक हुन् । ’

जारी सिजन मार्टिनेजले इन्टर मिलानका लागि सबैखाले प्रतियोगितामा गरी २० खेल खेल्दै कूल १३ गोल गरेका छन् । मिलानले उनको रिलिज क्लज १११ मिलियन युरो राखेको छ । तर, पछिल्लो समय ठूला क्लबले आफ्ना खेलाडीमाथि नजर लगाउन थालेपछि उसले मार्टिनेजसँग नयाँ सम्झौता गरेर रिलिज क्लज दोब्बर बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १५:११
Loading...