इन्टर मिलानविरुद्ध बार्सिलोनाको टोलीमा व्यापक परिवर्तन हुने

एजेन्सी, मंसिर २३
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा मंगलबार राति स्पेनिस बार्सिलोना समूह चरणको आफ्नो अन्तिम खेल इटालियन क्लब इन्टर मिलानसँग उसकै घरमा खेल्दैछ । यसअघि नै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको बार्सिलोनाका सो खेल औपचारिकता मात्रै हुनेछ ।

यता, मिलानका लागि भने अन्तिम १६ मा जान ‘गर या मर’ बराबर हुनेछ । मिलान बार्सिलोनालाई स्पष्ट गोलअन्तरमा हराएर अन्तिम १६ मा जाने दाउमा छ । त्यस्तै, जर्मन क्लब बोरुसिया डर्टमुन्ड पनि अन्तिम खेलबाटै अर्को चरण जान प्रतीक्षारत छ ।

सो खेलका लागि बार्सिलोनाको टोलीमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने व्यापक परिवर्तन गर्ने तयारी गरेका छन् । कम महत्त्वको सो खेलमा उनले कप्तान लिओनल मेस्सीहतका प्रमुख खेलाडीलाई विश्राम दिएर मिश्रित टोली उतार्ने तयारी गरेका छन् ।

स्पेनिस मिडियाका अनुसार प्रमुख खेलाडीलाई व्यस्त खेल तालिकाबीच आराम दिन हारे पनि फरक नपर्ने यो खेलमा उनीहरूलाई आराम दिइने तयारी गरिएको छ । सो खेलमा कप्तान मेस्सी, जेरार्ड पिके, जोर्डी अल्बा, लुइस स्वारेज, सर्जियो बुस्केट्स, फ्रेन्की डे जोङलगायत खेलाडी टोलीमा नरहने सम्भावना छ । यदि टोलीमा परे पनि उनीहरू बेन्चमा रहनेछन् ।

त्यस्तै, गोलकिपर मार्क आन्द्रे टर स्टेगेनले पनि यस खेलमा आराम पाउने सम्भावना छ । टोलीमा सर्जी रोवेर्टो, क्लेमेट लेङलेट, इभान राकिटिक, एन्टोनी ग्रीजम्यान, अन्सु फाती, कार्लेस पेरेजलगायत ‘बी’ टिमका खेलाडीसहितको मिश्रित टोली बनाउने तयारी भाल्भर्डेले गरेका छन् ।

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार १३:०३
Loading...