लिभरपुलका खेलाडीको व्यंग्य– ‘बालोन डि’ओर अवार्डको दाबेदार जोर्डी अल्बा थिए’

एजेन्सी, मंसिर २३
वर्ष २०१९ को प्रतिष्ठित बालोन डि‘ओर अवार्ड स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले जिते । उनले कीर्तिमानी छैटौंपटक अवार्ड जित्दा इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई पछि पारे ।

यसपटक लिभरपुललाई गत सिजन युरोपियन च्याम्पियन्स लिग र यस वर्ष युइएफए सुपर कपको उपाधि जिताउनेक्रममा महत्त्वपूर्ण योगदान दिएका भान डाइकलाई प्रमुख दाबेदार मानिएको थियो । तर, उनी मेस्सीभन्दा मात्रै ७ अंकले पछि परे ।

मेस्सीले बालोन डि‘ओर जित्दा आलोचना र विवादमुक्त भने हुन सकेन । अहिले पनि कतिले आलोचना गरिरहेका छन् । सोहीक्रमा लिभरपुलका खेलाडी ट्रेन्ट अलेक्सान्डर अर्नोल्डले अवार्ड आयोजक संस्था ‘फ्रान्स फुटबल’ र विजेता मेस्सीप्रति कडा व्यंग हानेका छन् ।

अर्नोल्ड उनै खेलाडी हुन्, जसले गत सिजन लिभरपुलले बार्सिलोनालाई आफ्नो घरमा दोस्रो लेगको खेलमा ४–० को लज्जास्पद हार चखाउँदा बार्सिलोनाका खेलाडीलाई छलाएर चलाखीपूर्वक कर्नर किक हानेका थिए । र, सोही किकमा गोल भएपछि बार्सिलोना स्तब्ध हुँदै प्रतियोगिताबाट आउट भएको थियो ।

हालै इंग्लिस मिडियासँग कुरा गर्दै अर्नोल्डले मेस्सीले बालोन डि‘ओर जित्नुभन्दा पनि भान डाइकले नजित्नु आश्चार्यको कुरा भएको बताए । ‘अवार्ड कसले जित्यो भन्दा पनि भान डाइकले किन जितेनन् भन्ने कुराले म आश्चार्यमा परेको छु,’ अर्नोल्डले भने, ‘यसपटक उनीजत्तिको योग्य कोही पनि थिएन ।’

अवार्ड घोषणाको नतिजाप्रति व्यंग्य हान्दै अर्नोल्डले बालोन डि‘ओर बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले जितेको भए झनै न्यायपूर्ण हुने बताए । उनले मजाकपूर्ण शैलीमा भने, ‘यस्तै हो भने ….. बालोन डि‘ओर जोर्डी अल्बाले जित्नुपर्ने थियो ।’

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार ०९:४८
Loading...