युनाइटेडसँग हारेपछि ग्वार्डिओलाले भने– ‘अब अर्को सिजन राम्रो गर्नेछौं’

एजेन्सी, मंसिर २२
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत जारी सिजनको पहिलो म्यानचेस्टर डर्बी भिडन्तमा साबिक विजेता म्यानचेस्टर सिटी आफ्नै घरमा म्यानचेस्टर युनाइटेडसँग १–२ ले पराजित भयो । गत राति चर्को दबाब लिएर आफ्नो घरेलु मैदानमा उत्रिए पनि सिटीले यो सिजनको चौथो हार टार्न सकेन ।

सो खेलपछि प्रशिक्षक पेप ग्वार्डिओलाले निकै निरााशाजनक प्रतिक्रिया दिएका छन् । खेलपछि मिडियासँग प्रस्तुत भएका उनले घरमा डर्बी हार्नु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । ‘हामीले यो खेल हार्छौं भनेर सोचेका थिएनौं,’ ग्वार्डिओलाले भने, ‘सायद उनीहरू जितको हकदार थिए । फुटबल जित्न गोल चािहन्छ । हामीले समयमै गोल निकाल्न सकेनौं ।’

ग्वार्डिओलाले आफूहरू लिग लिडर लिभरपुलसँग धेरै पछि परेको बताए । ‘यो १, २ वा ३ अंकको फरक होइन । हामी १४ अंकले पछि छौं,’ ग्वार्डिओलाले भने, ‘मलाई लाग्छ, यो घर्कियो । अब हामी अर्को सिजन राम्रो गर्नेछौं ।’

यद्यपि, आफूहरूले राम्रो खेल्न भने प्रयास गरिरहने ग्वार्डिओलाले बताए । ‘अझैं आधाभन्दा बढी लिग बाँकी नै छ । हामी हाम्रा खेलमा राम्रो गर्न चाहन्छौं, बाँकी समयले बताउनेछ,’ उनले थपे ।

गत रातिको हारपछि सिटी लिग लिडर लिभरपुलाभन्दा समान खेलपछि १४ अंकले पछि परेको छ भने दोस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अंकले पछि छ ।

प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार २२:१९
Loading...