म्यानचेस्टर सिटीद्वारा प्रिमियर लिग लिभरपुललाई जिम्मा !

काठमाडौं, मंसिर २२
इंग्लिस प्रिमियर लिगको साबिक च्याम्पियन म्यानचेस्टर सिटी जारी सिजन उपाधिको रिङबाट करिब–करिब बाहिर पुगेको छ । गत राति सिजनको पहिलो म्यानचेस्टर डर्बी भिडन्तमा आफ्नै घरेलु मैदानमा पाहुना टोली म्यानचेस्टर युनाइटेडसँग १–२ ले हारेपछि सिटीको उपाधि होडमा पहिरो चलेको छ ।

किनभने, गत राति घरमा युनाइटेडसँग हार्दा सिटीले ३ अंक मात्रै गुमाएन, ऊ लिग लिडर लिभरपुलसँग समान खेलपछि स्पष्ट रूपमा १४ अंकले समेत पछि परेको छ । लिगका सुरुआती १६ खेलपछि १४ अंकको अग्रता ज्यादै फराकिलो हो ।

हाल लिगमा लिभरपुल १६ खेलपछि ४६ अंक बनाएर शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लेस्टर सिटी ३५ अंकसहित दोस्रो स्थानमा छ भने १६ नै खेल खेलेको म्यानचेस्टर सिटी ३२ अंकसहित तेस्रोमा छ । यो सिजन लिभरपुलले १५ खेल जितेर एक खेल बराबरी गरेको छ भने सिटीले मात्रै १० खेल जितेर २ खेल बराबरी गर्दा ४ खेल हारिसकेको छ ।

ठीक यतिबेलाको अवस्था हेर्दा सिटीले यो सिजन अनौपचारिक रूपमा लिग लिभरपुललाई जिम्मा लगाएको छ भन्दा फरक पर्दैन । किनभने, सिटी १४ अंकले पछि पर्नु र लिभरपुलको यो सिजनको बेगलाई हेर्ने हो भने सिटीका लागि अब लिभरपुललाई पछ्याउन असम्भव नै नभए पनि सजिलै सम्भव हुने पनि देखिँदैन । त्यसका लागि सिटीले आफ्ना सबै खेल जितेर मात्रै पुग्दैन, लिभरपुल पाँच खेलमा हार्नुपर्छ ।

तर, लिगमा यो सिजन हालसम्म अपराजित रहेको लिभरपुलको गतिमा सजिलै ब्रेक लाग्ने संकेत छैन । यो कुरा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई समेत राम्रोसँग थाहा छ । गत राति युनाइटेडसँग हारेपछि मिडियामाझ प्रस्तुत भएका उनले सो कुरा स्वीकारेका छन् ।

ग्वार्डिओलाले यो सिजन सावधानी अपनाउँदा अपनाउँदै हातबाट लिग फुत्किँदै गइरहेको स्वीकारेका छन् । र, अब लिभरपुललाई पछ्याउन ज्यादै कठिन रहेको पनि बताएका छन् । ‘हामी ज्यादै खराब अवस्थमा छैनौं । लिभरपुल नहारी अघि बढेकाले अंक दूरी फराकिलो भयो,’ ग्वार्डिओलाले भने, ‘अब हामी अर्को सिजन राम्रो गर्नेछौं । यो सिजन लिभरपुललाई पछ्याउन करिब–करिब असम्भव छ ।’

ग्वार्डिओलाले लिगमा अझै आधाभन्दा बढी खेल बाँकी रहेकाले अनेक सम्भावना खुला रहेकाले आफूहरूले हरेश नखाने बताए । ‘हामी धेरै पछि छौं । तर, यो लिग हो । र, त्यहाँ अझै थुप्रै खेल बाँकी छन् । उनीहरूले पनि सधैं जित्दैनन् । बाँकी खेलमा हामी राम्रो गर्न प्रयास गर्नैछौं । बाँकी समयले बताउनेछ,’ ग्वार्डिओलाले भने ।

गएको सिजन सिटीले कूल ९८ अंकसहित उपाधि जित्दा लिभरपुल मात्रै १ अंकले पछि परेर उपविजेता बनेको थियो । लिभरपुलले कूल ९७ अंक जोडेको थियो । तर, यसपटक लिग प्रतिस्पर्धाको बाटोमा लिभरपुलको गाडी धेरै अगाडि पुगिसकेको छ भने सिटीको गाडी धेरै पछि छुटेको छ ।

प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार १५:२५
Loading...