लाजियोसँग हारेपछि रोनाल्डोबारे डिबालाको यस्तो टिप्पणी

एजेन्सी, मंसिर २२
गत राति इटालियन सिरी ए लिगमा लाजियोसँगको खेल अघिसम्म युभेन्टस युरोपका टप–५ लिगमा एक मात्रै अपराजित टिम थियो । तर, अवे मैदानमा लाजियोविरुद्ध उत्रिँदा साबिक विजेता युभेन्टसले सबैखाले प्रतियोगितामा गरी सिजनको पहिलो हार भोग्यो । १९ खेलसम्म एक खेल पनि नहारेको युभेन्टसलाई २०औं खेलमा लाजियोले ३–१ को हार चखायो ।

सो खेलपछि टोलीका युवा खेलाडी पाउलो डिबालाले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोबारे धारणा राखेका छन् । लाजियोविरुद्ध रोनाल्डोले सुरुआती गोल गरेका थिए । तर, उनको गोलले टिमको हार रोक्न सकेन । पछिल्लो समय लयमा नरहेका रोनाल्डो कमजोर प्रदर्शनका कारण आलोचित छन् ।

तर, अर्जेन्टिनी फरवार्ड डिबालाले भने रोनाल्डोको बचाउ गरेका छन् । उनले रोनाल्डोको खेलको तारिफ गर्दै रोनाल्डोले सक्दो गरिरहेको बताएका छन् । खेलपछि मिडियासँग कुरा गर्दै डिबालाले रोनाल्डोको प्रदर्शन र आलोचनाको विषयमा कुरा राखे । जसमा उनले आलोचनाको खण्डन गर्दै रोनाल्डो अहिले उत्कृष्ट अवस्थामा नरहे पनि टोलीले उनीबाट महत्त्वपूर्ण योगदान पाइहेको बताए ।

‘तपाईंहरू (मिडिया) किन यो प्रश्न गर्नुहुन्छ, मलाई थाहा छैन । तर, क्रिस्टियानो अहिले ठीक छन् । उनी पूर्ण रूपमा फिट हुन प्रयास गरिरहेका छन् । र, टोलीलाई सघाइरहेका छन,’ डिबालाले भने, ‘तपाईंहरूलाई सधैं उनको गोल चाहिन्छ । तर, कुनै पनि खेलाडीले सधैं गोल गर्न र एकनासको खेल्न सक्दैन । यो सबै खेलाडीमा लागू हुन्छ ।’

डिबालाले रोनाल्डोलाई उत्कृष्ट लयमा फर्किन सबैले सहयोग गरिरहेको बताए । ‘हामी उनलाई उत्कृष्ट लयमा फर्किन सघाइरहेका छौं । उनी नेता खेलाडी हुन् । हामीलाई विश्वास छ, उनले चाँडै पुरानो लय समात्नेछन् । टिमलाई उनको अझै आवश्यकता छ,’ डिबालाले थपे ।

डिबालाले लाजियोसँगको हारबारे पनि बताए । उनले सधैं जित्न मात्रै सम्भव नहुने बताए । ‘सबै टिम सबै खेल जित्न नै चाहन्छन् । तर, यस्तो हुँदैन । २० खेल खेल्दा एक खेल हार्नुलाई तपाईं कसरी प्रश्न गर्न सक्नुहुन्छ ? मलाई भन्दिनुहुन्छ ?’

गत रातिको हारपछि युभेन्टस १५ खेलपछि ३६ अंकसहित दोस्रो स्थानमा छ । ३८ अंक भएको इन्टर मिलान शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २२ मंसिर २०७६, आईतवार १४:५८
Loading...