युरोपा लिग : एस्तानासँग म्यानचेस्टर युनाइेडको नमिठो हार

काठमाडौं, मंसिर १३
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलमा पराजित भएको छ । गत राति भएको खेलमा युनाइटेडलाई काजकिस्तानको क्लब एफसी एस्तानाले आफ्नो घरमा २–१ ले स्तब्ध बनायो ।

खेलमा पाहुना टोली युनाइटेडले सुरुआती अग्रता लिएको थियो । तर, त्यसपछि उसले अग्रता गुमायो भने दोस्रो हाफमा आत्मघाती गोल खाएपछि हार पन्छाउन सकेन । एस्तानाको घरमा भएको खेलमा भ्रमणकारी टोली युनाइटेडले खेलको १०औं मिनेटमा कप्तान जेसे लिङ्गार्डको गोलबाट अग्रता लिएको थियो । उनले लुका शाको पासमा गोल गरेका थिए ।

तर, अधिकांश दोस्रो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको युनाइटेडले दोस्रो हाफमा हार भोग्यो । खेलको ५५औं मिनेटमा घरेलु टोलीका लागि दिमित्री सोमकोले गोल गरेर खेल १–१ बनाएका थिए ।

त्यसपछि खेलको ६२औं मिनेटमा युनाइटेडले गोल खायो । डि सोन बर्नाडले आफ्नै पोस्टमा गोल गरेपछि युनाइटेड खेलमा २–१ ले पछि परेको थियो । एस्तानाका रुकाभिनाको क्रस प्रहारलाई बक्समा क्लियर गर्न खोज्दा बर्नाडलाई लाग्दै बलले पोस्टको दिशा लिएको थियो । त्यसपछि युनाइटेड खेलमा फर्किन सकेन । र, नतिजा एस्तानालाई २–१ ले सुम्पियो ।

यो जितसँगै एस्तानाले समूह ‘एल’ मा पहिलो जित निकाल्दै ३ अंक जोडेको छ । पराजित भए पनि युनाइटेड १० अंक शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति १३ मंसिर २०७६, शुक्रबार ०७:५१
Loading...