डेम्बेलेलाई सधैं चोटको पिरलो : अब २०२० मा मात्रै मैदान फर्किने

काठमाडौं, मंसिर १२
स्पेनिस बार्सिलोनाका फ्रेन्च विंगर उसामान डेम्बेले फेरि घाइते भएका छन् । युरोपियन च्यामिपयन्स लिग फुटबलमा गत राति आफ्नो घरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध खेल्नेक्रममा उनी चोटग्रस्त भएका हुन् ।

सुरुआती टोलीमा मैदान उत्रिएका डेम्बेलेले खेलको २६औं मिनेटमै मैदान छाडेका थिए । उनको स्थानमा फ्रान्सकै एन्टोनी ग्रीजम्यान मैदान छिरेका थिए । विपक्षी खेलाडीका हलुका ट्याकलमा परेर भुइँमा बजारिएका डेम्बेलेको तीघ्राको मांशपेसीमा चोट परेको बताइएको छ ।

हालसम्म बार्सिलोनाले डेम्बेलेको चेकजाँचको रिपोर्टबारे केही बताएको छैन । तर, बार्सिलोन निकट पत्रिका ‘मुन्डो डेपोर्टिभो’का अनुसार डेम्बेले अब अर्को वर्ष २०२० मात्रै मैदान फर्किनेछन् ।

वर्ष २०१९ मा मात्रै कूल ६ पटक घाइते भएका २२ वर्षीय डेम्बेले तत्कालै फिट नहुने बताइएको छ । उनी जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बार्सिलोना पुगिकन कूल ९ पटक घाइते भइसकेका छ्न। उनी बार्सिलोनामा सबैभन्दा घाइते हुने खेलाडी हुन् ।

यो चोटका कारण डेम्बेलेले अब कम्तीमा ६ देखि ९ खेल गुमाउने पक्का छ । यो सिजन उनले जम्मा ९ खेल मात्रै खेलेका छन् । र, १ गोल गरेका छन् ।

बार्सिलोना आएको पहिलो सिजन डेम्बेलेले चोटकै कारण कूल २७ खेल गुमाएका थिए । जसमा उनले कूल २३ खेल खेल्दै मात्रै ४ गोल गरेका थिए । बार्सिलोनामा तेस्रो सिजन बिताइरहेका उनका लागि दोस्रो सिजन तुलनात्मक रूपमा केही राम्रो थियो । दोस्रो सिजन उनले कूल ४२ खेल खेल्दै १४ गोल गरेका थिए ।

बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा डर्टमुन्डबाट १०५ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अहिले मार्केटमा डेम्बेलेको भ्यालु १३० मिलियन युरो आसपास रहेको छ ।

प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार १८:५१
Loading...