मार्टिनेज चम्किँदा इन्टर मिलानको सहज जित : अन्तिम १६ को ढोका खुला

काठमाडौं, मंसिर १२
समूह चरणको पाँचौं खेलमा सहज जित निकालेपछि इटालियन क्लब इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ पुग्ने सम्भावना जीवित बनाएको छ । नेपाली समयअनुसार बिहीबार बिहान भएको खेलमा मिलानले चेक क्लब स्लाभिया प्रहालाई उसकै घरेलु मैदानमा १–३ ले हरायो ।

मिलानको जितमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेज नायक बने । उनले टिमका लागि सुरुआती र अन्तिम गोल गरे । मिलानका लागि खेलको १९औं मिनेटमा मार्टिनेजले पहिलो गोल गरेका थिए । तर, खेलको ३७औं मिनेटमा स्लाभियाका लागि तोमास सोउचेकले पेनाल्तीमार्फत् गोल गरेर खेल १–१ बनाए ।

तर, दोस्रो हाफको अन्तिम समयमा मिलानले विजयी गोल हान्यो । खेलको ८१औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि मिलान जिततर्फ अघि बढेको थियो । त्यसपछि ८८औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल मिलानले १–३ ले जित्यो ।

अब यो जितसँगै मिलान समूह ‘एफ’मा ७ अंक जोडेर दोस्रो स्थानमा छ । समान ७ अंक नै भएको जर्मन क्लब बोरुसिया डर्टमुन्ड तेस्रोमा छ । ११ अंक भएको बार्सिलोना समूह विजेता बनेर अन्तिम १६ मा पुगिसकेको छ । यस समूहबाट अन्तिम १६ जाने टिमको टिम अन्तिम खेलबाट टुंगो लाग्नेछ ।

प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार ०४:२८
Loading...