लिभरपुल नापोलीसँग आफ्नै घरमा रोकियो : अन्तिम १६ जान अन्तिम खेल कुर्नुपर्ने

काठमाडौं, मंसिर १२
साबिक विजेता इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा जान अन्तिम खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ । समूह चरणको पाँचौं खेलमा पाहुना टोली इटालियन नापोलीसँग आफ्नै घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएपछि लिभरपुलको अन्तिम खेलअघि नै अन्तिम १६ मा पुग्ने योजना पूरा भएन ।

आफ्नो घरेलु मैदान एनफिल्डमा लिभरपुल खेलको २१औं मिनेटमा गोल खाएर पछि परेको थियो । ड्रिएस मार्टिन्सले सुन्दर गोल गरेर नापोलीलाई अग्रता दिलाएका थिए । गोल खाएपछि चर्को दबाबमा देखिएको लिभरपुलले बराबरी गोलका लागि ठूलै संघर्ष गर्नु परेको थियो ।

दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कियो । खेलको ६५औं मिनेटमा डेजान लोभ्रेनले कर्नर किकमा आएको बलमा हेडिङमार्फत् गोल गरेर खेल १–१ बनाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल १–१ मा टुंगियो ।

अब यो बराबरीपछि लिभरपुल समूह ‘ई’को शीर्ष स्थानमा १० अंकसहित रहेको छ । तर, उसले अन्तिम १६ मा जान अन्तिम खेलसम्म प्रतीक्षा गर्नुपर्छ । नापोली ९ अंकसहित दोस्रोमा छ । ७ अंक भएको रेड बुल तेस्रोमा छ । अन्तिम खेल बाँकी छँदासम्म यस समूहबाट तीन वटै टोलीको अन्तिम १६ मा जाने सम्भावना जीवित छ ।

प्रकाशित मिति १२ मंसिर २०७६, बिहीबार ०३:५५
Loading...