सान्चोलाई पछि पार्दै फेलिक्सले जिते ‘गोल्डेन ब्वाई’ अवार्ड

काठमाडौं, मंसिर ११
स्पेनिस क्लब एथ्लेटिको मड्रिड तथा पोर्चुगलका युवा स्टार जोआओ फेलिक्सले वर्ष २०१९ का लागि गोल्डेन ब्वाई अवार्ड जितेका छन् । २३ वर्षभन्दा मुनि उमेरका वर्षको उत्कृष्ट युवा खेलाडीलाई दिइने सो अवार्डमा यसै सिजन स्पेनिस लिगमा प्रवेश गरेका फेलिक्सले बाजी मारेका हुन् ।

अस्ति भर्खरको समर सिजनमा फेलिक्सलाई एथ्लेटिकोले पोर्चुगिज क्लब बेनफिकाबाट १२६ मिलियन युरोमा अनुबन्ध गरेको थियो । स्पेन आएपछि सुरुआतबाटै शानदार प्रदर्शन गरेका उनले अन्ततः प्रतिष्ठित अवार्डमा पनि बाजी मारे ।

यो अवार्ड इटालीको पत्रिका ‘टुटो स्पोर्टस्’ दिने गर्छ । यस संस्करणको अवार्ड आगामी डिसेम्बर १६ मा इटालीको टुरिनामा एक कार्यक्रमबीच वितरण हुनेछ ।

फेलिक्सले अवार्ड जित्नेक्रममा कूल ३३२ भोट पाए । उनीपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डका इंग्लिस खेलाडी जोर्डन सान्चोले १७५ भोट पाउँदा जर्मन क्लब बायर लेभरकुसेनका काई हाभर्टनले ७५ भोट पाए । पहिलो नम्बरको भोटका लागि कूल ४० मध्ये २५ भोट फेलिक्सलाई मात्रै झरेको तथ्यांकमा उल्लेख छ ।

जारी सिजन फेलिक्सले एथ्लेटिकोका लागि सबैखाले प्रतियोगिताबाट १३ खेलबाट ३ गोल गर्दै ३ गोलका लागि असिस्ट गरेका छन् । उनले यसै वर्ष पोर्चुगलको राष्ट्रिय टोलीमा समेत डेब्यु गरेका थिए ।

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार २०:५२
Loading...