च्याम्पियन्स लिग भिडन्त : बार्सिलोना र डर्टमुन्डको प्लेइङ–११

काठमाडौं, मंसिर ११
युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पाँचौं तथा दोस्रो लेगमा आज स्पेनिस बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुन्डको रोमाञ्चक खेल हुँदैछ । यसअघि डर्टमुन्डको घरेलु मैदानमा भएको पहिलो लेग ०–० मा सकिएको थियो । खेल बार्सिलोनाको घर क्याम्प नोउमा आज राति १ः४५ बजेबाट सुरु हुनेछ ।

आज बार्सिलोना र डर्टमुन्ड दुवै स्पष्ट जित निकालेर अन्तिम १६ मा स्थान पक्का गर्ने दाउमा छन् । आफ्नो घरमा खेल्न लागेको बार्सिलोनालाई अन्तिम १६ मा जान मात्रै १ अंक आवश्यक छ । त्यसका लागि आज उसले डर्टमुन्डसँग बराबरी मात्रै गरे पनि पुग्छ । तर, डर्टमुन्डले भने आज बार्सिलोनालाई जितेर पनि अन्तिम खेलबाट १ अंक आवश्यक पर्न सक्छ ।

प्लेइङ–११ मा को–को पर्न सक्छन् ?

आज आफ्नो घरमा उत्रिँदा बार्सिलोनाको रक्षापंक्तिका केही नियमित खेलाडी हुनेछैनन् । सेन्टर डिफेन्डर जेर्राड पिके प्रतिबन्धमा छन् भने जोर्डी अल्बा र नेल्सन सेमेडो चोटका कारण टोलीमा छैनन् ।

आज यी खेलाडीको अनुपस्थितिमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले अन्य खेलाडी प्रयोग गर्नेछन् । जसमा सर्जी रोवेर्टो प्रतिबन्धबाट मुक्त भएर फर्किएका छन् भने सामुएल उम्टिटी पनि टोलीमा छन् । त्यस्तै, जुनियर फिर्फो आज टोलीमा हुनेछन् । हालै चोटबाट फर्किएका क्लेमेट लेङलेटलाई भाल्भर्डेले जोखिमसाथ खेलाउने तयारी गरेका छन् ।

यसबाहेक बार्सिलोनाको टोलीमा गोल पोस्टमा पहिलो रोजाइका टर स्टेगेन ठीकठाक छन् भने मिडफिल्डरमा पनि सैब प्रमुख खेलाडी उपलब्ध छन् । मिडफिल्डमा आज सुरुआती टोलीमा अर्थुर, फ्रेन्की डे जोङ र सर्जियो बुस्केट्सले सम्हाल्ने सम्भावना छ । इभान राकिटिक र अर्टुरो भिडाल आज पनि बेन्चमै रहन सक्छन् । यता, आक्रमण लाइनमा भने कप्तान लिओनल मेस्सीसहित लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान, उसामान डेम्बेलेसहितका खेलाडी उपलब्ध छन् ।

यता, पाहुना टोली डर्टमुन्डमा आज गोलपोस्ट रोमान बुर्कीले सहाल्नेछन् । रक्षापंक्तिमा राफाएल गुरेरियो र ह्याट ह्युमेल्सहितका प्रमुख खेलाडी हुनेछन् । मिडफिल्डमा एलेक्स विस्टेल, जुलियन ब्रान्डटको उपस्थिति महत्त्वपूर्ण हुनेछ । डिफेन्सिभ मिडफिल्डर अक्राफ हाकिमी आज पनि टोलीका लागि प्रमुख हतियार हुनेछन् ।

तर, आज डर्टमुन्डको आक्रमण लाइनमा फरवार्ड पाको अल्कासेर हुनेछैनन् । आक्रमण पंक्तिमा युवा स्टार मार्को रेउस र जोर्डन सान्चोलाई हाकिमीले साथ दिनेछन् । पछिल्ला खेलमा यी तीन खेलाडीको सेट निकै प्रभावशाली देखिएको छ । हाकिमी रियलबाट लोनमा डर्टमुन्ड पुगेका खेलाडी हुन् ।

सम्भावित–११

 

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार १९:५८
Loading...