च्याम्पियन्स लिगमा लेवान्डोस्कीले बनाए ‘दुर्लभ’ रेकर्ड

काठमाडौं, मंसिर ११
जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा दुर्लभ रेकर्ड बनाएका छन् । समूह चरणअन्तर्गत गत राति क्रेभेना ज्भेज्दाविरुद्ध बार्यनले ०–६ को जित निकाल्दा लेवान्डोस्की एक्लैले ४ गोल गरेका थिए ।

सो ४ गोल गरेसँगै उनी अब यस प्रतियोगितामा सबैभन्दा छिटो ४ गोल गर्ने खेलाडी बनेका छन् । उनले गत राति मात्रै १४ मिनेटको बीचमा ४ गोल गेका थिए । उनले खेलको १४औं मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गर्दा ६०औं, ६४औं र ६७औं मिनेटमा गोल गरेका थिए ।

उनले मात्रै १४ मिनेटको बीचमा ४ गोल गरेपछि उनको नाममा अब च्याम्पियन्स लिगको इतिहासमै सर्वाधिक छिटो ४ गोल गर्ने खेलाडीको रेकर्ड बनेको छ । उनले यसअघि सन् २०१३ मा बोरुसिया डर्टमुन्डमा छँदा पनि एकै खेलमा ४ गोल गरेका थिए । यससँगै लेवान्डोस्कीले अब यस प्रतियोगितामा एकै खेलमा दोस्रोपटक ४ गोल गरेका छन् ।

यो सिजन शानदार लयमा देखिएका लेवान्डोस्कीले च्याम्पियन्स लिगमा मात्रै ५ खेलबाट १० गोल गरिसकेका छन् । उनी हालसम्म प्रतियोगिताको सर्वाधिक गोलकर्ता छन् ।

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार ११:३१
Loading...