शाख्तरसँग बराबरी खेल्दै सिटी च्याम्पियन्स लिग अन्तिम १६ मा

काठमाडौं, मंसिर ११
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको समूह चरणको पाँचौं खेलमा शाख्त डोनेट्स्कसँग १–१ को र बराबरी खेले पनि सिटी अन्तिम १६ मा प्रवेश गरेको हो ।

आफ्नो घरेलु मैदानमा सिटीका लागि खेलको ५६औं मिनेटमा एकाई गुन्डोगानले गोल गरेर अग्रता दिलाएका थिए । तर, खेलको ६९औं मिनेटमा शाख्तर खेलमा फर्कियो । उसका लागि मानोर सोलोमनले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो ।

यो बराबरीपछि सिटी अन्तिम खेल बाँकी छँदै ५ खेलबाट ११ अंक जोडेर समूह ‘सी’को समूह विजेता बनेर अर्को चरण पुगेको छ भने शाख्तरको अन्तिम १६ को सम्भावना जीवितै छ । उसले अन्तिम खेलमा जित हात पारे अर्को चरण जानेछ ।

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार ०४:४८
Loading...