युभेन्टसको जितमा डिबालाको दर्शनीय फ्रि किक गोल निर्णायक

काठमाडौं, मंसिर ११
अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले गरेको १ मात्रै दर्शनीय फ्रि किक गोलको मदतमा इटालियन युभेन्टसले युरोपियन च्याम्पियन्स लिग फुटबलमा साँघुरो जित निकालेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको दोस्रो लेगको खेलमा युभेन्टसले भ्रमणकारी टोली एथ्लेटिको मड्रिडलाई आफ्नो घरमा १–० ले हरायो ।

यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको युभेन्टसले यो जितसँगै यो सिजन सबैखाले प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ । प्रतिस्पर्धात्मक देखिएको खेलमा युभेन्टसका लागि पहिलो हाफको इन्जुरी समयमा डिबालाले फ्रि किक गोल गरेका थिए ।

मैदानको माथिल्लो कुनाबाट उनले हानेको फ्रि किक प्रहारले घुमाउरो दिशा बनाउँदै सोझै जाली चुमेको थियो । एथ्लेटिकोको गोलरक्षक जोन ओब्ल्याकले फ्रि किक रोक्न प्रयास गरे पनि बलको दिशा पहिल्याउन नसक्दा गोल खान पुगे । त्यसपछि खेल अवधिभर दुवै टोलीबाट थप गोल नभएपछि खेल युभेन्टसले १–० ले जित्यो ।

यो जितपछि युभेन्टस अन्तिम एक खेल बाँकी छँदै समूह ‘डी’को समूह विजेता बनेको छ भने एथ्लेटिकोले भने अर्को चरण जान अझै अन्तिम खेलसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार ०४:३९
Loading...