शानदार कमब्याक जितसहित टोटनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, मंसिर ११
१९औं मिनेटभित्रै ०–२ ले परेको अवस्था उल्टाएर इंग्लिस क्लब टोटनह्यामले शानदार जित निकालेको छ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा नेपाली समयअनुसार बुधबार बिहान भएको दोस्रो लेगको खेलमा टोटनह्यामले भ्रमणकारी टोली ओलम्पियाकोसलाई ४–२ ले हरायो ।

आफ्नो घरेलु मैदानमा टोटनह्याम खेलको छैटौं मिनेटमा गोल खाएर पछि परेको थियो । सो गोल युसेफ इल–अरबीले गरेका थिए । फेरि खेलको १९औं मिनेटमा रुबेन सेमेडोले गोल गरेपछि टोटनह्याम ०–२ ले पछि परेको थियो ।

तर, त्यसपछि टोटह्याम खेलमा फर्कियो । पहिलो हाफको इन्जुरी समयमा डेले अलीले गोल गरेर खेल १–२ मा झारेका थिए । त्यसपछि खेलको ५०औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल २–२ को बराबरी बनाए ।

त्यसपछि पनि टोटनह्यामले २ गोल थपेर खेल जित्यो । ७३औं मिनेटमा सेर्गे अयुरियरले गोल गरे भने ७७औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल टोटनह्यामले ४–२ ले जित्यो ।

यससँगै नयाँ प्रशिक्षक जोेसे मोउरिन्होले च्याम्पियन्स लिगमा पनि पहिलो खेलमै जितको स्वाद चाखेका छन् । टोटनह्यामका लागि यो उनको दोस्रो खेल थियो । यो जितसँगै टोटनह्याम समूह ‘बी’बाट उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । उसले अन्तिम खेल खेल्नै बाँकी छ । टोटनह्याम ५ खेलबाट १० अंक बनाएर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार ०४:०४
Loading...