रियल मड्रिडको घरमा पिएसजीको नाटकीय बराबरी : दुवै अन्तिम १६ मा प्रवेश

काठमाडौं, मंसिर ११
खेलको अन्त्यतिर ३ मिनेटको बीचमा २ गोल खाएपछि स्पेनिस रियल मड्रिड फ्रेन्च क्लब पिएसजीसँग जित नजिक पुगेर बराबरीमा रोकिएको छ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा नेपाली समयअनुसार बुधबार बिहान भएको समूह चरणको पाँचौं तथा पिएसजीसँगको दोस्रो लेगको खेलमा रियलले २–० को अग्रता लिए पनि जोगाउन नसक्दा २–२ को बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

रियलले करिम बेन्जेमाको २ गोलको मदतमा खेलको ८०औं मिनेटसम्म २–० को अग्रता बनाएको थियो । तर, त्यसपछि ३ मिनेटको बीचमा २ गोल खाएपछि रियल जितबाट चुक्यो । रियलका लागि खेलको १७औं मिनेटमा बेन्जेमाले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ७९औं मिनेटमा मार्सेलोको क्रस पासमा बेन्जेमाले अर्को गोल थप्दै रियललाई जिततर्फ अघि बढाएका थिए ।

तर, त्यसपछि रियलले पोस्ट जोगाउन सकेन । खेलको ८१औं मिनेटमा गोलकिपर थिबाउट कोर्टुवा र डिफेन्डर राफाएल भारानको बेमेलका कारण रियलले गोल खायो । सो गोलमा एमबाप्पेले अन्तिम टच दिएका थिए । त्यसको २ मिनेटमै पाब्लो सराबियाले गोल गरे । नेइमारको प्रहार रि–बाउन्ड भएको आएको बलमा सराबियाले सुन्दर प्रहारमा गोल गरेपछि खेल २–२ मा आयो ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा टुंगियो । यो बराबरीसँग रियलले यसअघि पिएसजीको घरमा भोगेको ३–० को हारको बदला लिने अवसरसमेत गुमाएको छ ।

पिएसजीका ब्राजिलियन नेइमार यसै खेलमा यो सिजन पहिलोपटक च्याम्पियन्स लिग खेल्न मैदान फर्किएका थिए । यसअघि चोट र प्रतिबन्धका कारण ४ खेल गुमाएका उनी पाँचौं खेल खेल्न टोलीमा थिए । हालै मात्र चोटमुक्त भएर आएका नउलाई प्रशिक्षक थोमस टुचेलले रियलविरुद्ध पहिलो रोजाइमा नराखेर दोस्रो हाफको सुरुआतमै मैदान छिराएका थिए ।

सुपरस्टार खेलाडी लिएर उत्रिएको पिएसजीविरुद्ध घरेलु टोली रियलले निकै शानदार प्रदर्शन गरेको थियो । इडेन हाजार्डले व्यक्तिगत रूपमा प्रभावशाली योगदान दिए भने फेडे भाल्भर्डे र इस्कोको व्यक्तिगत प्रदर्शन पनि महत्त्वपूर्ण रह्यो । रियलले पिएसजीविरुद्ध दबाब बनाएर खेल्नेक्रममा कूल २७ आक्रमण गरेको थियो । पिएसजीले १३ पटक मात्रै आक्रमण गरेको थियो ।

रियल हाजार्ड चोट बोकेर मैदान नछाड्दासम्म पिएसजीमाथि पूरै हाबी थियो । हाजार्डले खेलको ६९औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा ग्यारेथ बेल आएका थिए । खेलको इन्जुरी समयमा बेलले हानेको शक्तिशाली फ्रि किक पोलमा लागेर फर्किएको थियो । मैदनमा थोरै समय बिताए पनि पिएसजीविरुद्ध बेलले केही राम्रा आक्रमण बुनेका थिए ।

त्यसअघि रियल एक ठूलो संकटबाट बचेको थियो । खेलको ३२औं मिनेटमा रियलका गोलकिपर थिबाउट कोर्टुवालाई रेफ्रीले रातो कार्ड दिएका थिए । बक्स लाइनमा आएर पिएसजीका खेलाडी मार्को भेराट्टीलाई लडाएको आरोपमा मैदानका रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर पिएसजीलाई पेनाल्टी दिएका जिए । तर, पछि भिएआरबाट पुनः जाँच गरेपछि सो फउलमा खेलाडी स्वयंको गल्ती देखिएपछि कोर्टुवाको रातो कार्ड रद्द भएको थियो भने पेनाल्टीसमेत खोसिएको थिथो । सोक्रममा दुई टोलीका खेलाडीले रेफ्रीसँग निकैबेर विवाद गरेका थिए ।

यससँगै समूह ‘ए’बाट पिएसजी अन्तिम खेल बाँकी छँदै १३ अंक बनाएर अन्तिम १६ मा पुगेको छ भने रियल पनि ८ अंकसहित अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रकाशित मिति ११ मंसिर २०७६, बुधबार ०३:४७
Loading...