रोनाल्डोलाई ‘फर्म’मा फर्काउन यस्तो छ सार्रीको ‘मास्टर प्लान’

एजेन्सी, मंसिर १०
जारी सिजन इटालियन युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो उत्कृष्ट लयमा छैनन् । उनी हालै चोटमुक्त भएर युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध हुने खेलबाट मैदान फर्किंदैछन् । यो खेल आजै राति १ः४५ बजेबाट हुँदैछ ।

रोनाल्डो यसअघि अन्तर्राष्ट्रिय खेल खेल्न पोर्चुगलको टोलीमा थिए । चोटका बावजुद पनि रोनाल्डोले पोर्चुगलका लागि दुई खेल खेल खेल्नेक्रममा शानदार प्रदर्शन गरे । जहाँ उनले दुई खेलबाट एक ह्याट्रिकसहित ४ गोल गरे । र, टिमलाई अर्को वर्ष हुने युरो कपमा पुर्याए । त्यहाँबाट फर्किएर रोनाल्डो पूर्ण फिट हुन युभेन्टसको एक खेलमा टोलीमा रहेनन् ।

इटालियन पत्रिका ‘गाजेट्टो डेल्लो स्पोर्ट’का अनुसार युभेन्टसका प्रशिक्षक सार्रीले रोनाल्डोलाई उनको पुरानो लयमा फर्काउन विशेष योजना बनाएका छन् । खबरअनुसार उनले हालै क्लबका अध्यक्ष र खेल निर्देशकसँग बसेर रोनाल्डोको विषयमा छलफलसमेत गरेका छन् ।

खबरअनुसार प्रशिक्षक सार्रीले रोनाल्डोलाई ‘ओर्जिनल फर्म’मा फर्काउन उनीसँग सोझो छलफल गरेका छन् । जसमा सार्रीले रोनाल्डोलाई केही समय महत्त्वपूर्ण खेलबाहेक केही खेलमा आराम दिने र अनेक हिसाबले फिट बनाउनेछन् । त्यसले रोनाल्डोलाई शारीरिक रूपमा आराम मिल्ने र मानसिक रूपमा पनि उनी रिकभर हुने आशा सार्रीले लिएका छन् ।

रिपोर्टअनुसार अहिले सार्री विशेष योजना प्रयोग गर्ने तयारीमा छन्, जस्तो रियल मड्रिडमा रोनाल्डोका लागि जिनेदिन जिदानले प्रायेग गर्थे । इटालीका मिडियाले रोनाल्डोलाई शानदार लयमा फर्काउन सार्रीले जिदानको शैली र योजना युभेन्टसमा ‘कपी’ गर्न लागेको भन्दै खबर छापेका छन् । रियलमा छँदा जिदानले टिम बनाउँदा अक्सर रोनाल्डोलाई केन्द्रित गरेर बनाउँथे । जब–जब रोनाल्डो कमजोर देखिन्थे, जिदानले उनलाई आराम दिएर ठूला खेलमा मात्रै प्रयोग गर्थे । रियलले लगातार तीन वर्ष च्याम्पियन्स लिग जित्नुमा रोनाल्डोका लागि जिदानले प्रयोग गरेको ‘मास्टर प्लान’लाई कारण मानिन्छ । जहाँ रोनाल्डोले च्याम्पियन्स लिगमा शानदार प्रदर्शन गर्दै टिमलाई उपाधि मात्रै जिताएनन्, लगातार सर्वाधिक गोलकर्ता पनि बने ।

यो सिजन युभेन्टसमा रोनाल्डोका लागि नयाँ सिजन सामान्य मात्रै भइरहेको छ । उनले घरेलु लिगमा १० खेलबाट ५ गोल गर्दै १ असिस्ट गरेका छन् । च्याम्पियन्स लिगमा ४ खेलबाट १ गोल (एथ्लेटिको मड्रिडसँगको खेल अघिसम्म) गरेका छन् । तर, यस वर्ष मात्रै रोनाल्डोले पोर्चुगलका लागि ८ खेलबाट कूल १३ गोल गरिसकेका छन् ।

प्रकाशित मिति १० मंसिर २०७६, मंगलवार २२:०७
Loading...