रोनाल्डो विश्वकै नम्बर वान खेलाडी : सिमोनी

एजेन्सी, मंसिर १०
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति समूह चरणअन्तर्गत दोस्रो लेगको खेलमा इटालीको क्लब युभेन्टस र स्पेनको क्लब एथ्लेटिको मड्रिड भिड्दैछन् । खेल युभेन्टसको घरमा राति १ः४५ बजेबाट सुरु हुनेछ ।

सो खेलअघि एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । इटाली पुगेर आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै अर्जेन्टिनी प्रशिक्षक सिमोनीले रोनाल्डो विश्वकै नम्बर वान खेलाडी रहेको बताउँदै उनीविरुद्ध खेल्न सधैं कठिन हुने बताए ।

‘रोनाल्डो च्याम्पियन खेलाडी हुन्, विश्वकै नम्बर वान । उनी निकै शानदार र अद्भुत छन् । उनी एक मात्रै यस्ता खेलाडी हुन्, जसले ठूला टिम र प्रतियोगितामा सधैं योगदान दिन्छन्,’ सिमोनीले भने ।

सिमोनीले रोनाल्डोले आफू र आफ्नो टिमविरुद्ध सधैं राम्रो गर्ने गरेको बताए । ‘विगतको नतिजा र तथ्यले यो प्रष्ट पार्छ कि, उनले हामीविरुद्ध सधैं राम्रो गरेका छन् । हामी अक्सर उनीबाट प्रताडित हुँदै आएका छौं । गएको सिजन पनि हाम्रो बाटोमा रोनाल्डो नै तगारो बने । उनी को हुन् भनेर धेरै भन्नु जरुरी छैन,’ सिमोनीले थपे ।

सिमोनीलाई वर्ष २०१९ को बालोन डि‘ओरको विषयमा पनि सोधिएको थियो । त्यसमा सिमोनीले सांकेतिक उत्तर दिँदै लिभरपुलका भर्जिल भान डाइक दाबेदार रहेको बताए । ‘यसमा मेरो बलियो मत छैन । तर, राम्रो गर्ने र जित्ने खेलाडीले जित्दा अवार्ड अर्थपूर्ण हुन्छ ।’

प्रकाशित मिति १० मंसिर २०७६, मंगलवार १७:४१
Loading...