बालोन डि‘ओर मेस्सीले जित्ने पक्का !

एजेन्सी, मंसिर १०
वर्ष २०१९ को बालोन डि‘ओर अवार्ड स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले जित्ने पक्काजस्तै भएको छ । यस्तो रिपोर्ट स्पेनका पत्रिकाले छापेका छन् । ‘मुन्डो डेपोर्टिभो’का अनुसार डिसेम्बर २ मा पेरिसमा घोषणा हुने सो अवार्डका लागि मेस्सीलाई इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइकसँगै प्रमुख दाबेदार मानिएको छ ।

सो पत्रिकाका अनुसार अवार्ड वितरक संस्था ‘फ्रान्स फुटबल’ को टिम यसअघि नै बार्सिलोना पुगेर मेस्सीको फोटो सेसन गराइसकेको छ, जुन अवार्ड घोषणा हुने दिन बिहान फ्रान्स म्यागजिनले आफ्नो कभरमा छाप्छ ।

यसपटक बार्सिलोनाका मेस्सीसँगै लिभरपुलका भान डाइक र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो प्रमुख दाबेदार रहेका छन् ।

गत सिजन भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिग तथा यसै वर्ष युइएफए सुपर कपको उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए भने प्रिमियर लिगमा लिभरपुल उपविजेता बन्दा पनि उनको प्रदर्शन शानदार रहेको थियो । यता, मेस्सीले भने गत सिजन बार्सिलोनाबाट घरेलु लिग ला लिगा मात्रै जिते ।

त्यस्तै, रोनाल्डोले युभेन्टसबाट दुई प्रमुख उपाधिसहित पोर्चुगलको टोलीबाट युइएफए नेसन्स लिगसहित तीन उपाधि जिते । यी तीन उपाधि जित्दा रोनाल्डो दुवै टोलीका निर्णायक खेलाडी थिए ।

प्रकाशित मिति १० मंसिर २०७६, मंगलवार ०८:३८
Loading...