सिटीलाई झट्का : चोटका कारण अगुएरोले ६ खेल गुमाउने

एजेन्सी, मंसिर ९
इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार फरवार्ड सर्जियो अगुएरो घाइते भएका छन् । अघिल्लो दिन प्रिमियर लिग फुटबलमा चेल्सीसँग भएको खेल दौरान अगुएरोले चोट बोकेको सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुष्टि गरेका छन् ।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार सिटीले पाँचौं खेलमा शाख्तर डानेस्टकसँग खेल्दैछ । सो खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ग्वार्डिओलाले अगुएरो घाइते भएको र उनलाई रिकभर हुन दुई महिनासम्म समय लाग्न सक्ने बताए ।

यससँगै अगुएरोले यो सिजन घरेलु लिगमा हुने पहिलो म्यानचेस्टर डर्बी गुमाउने पक्का भएको छ । यो सिजन म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आगामी डिसेम्बर ७ तारिखमा सिटीको घरमा भिड्दैछन् ।

सिटीले चेल्सीलाई आफ्नो घरमा २–१ ले हराउँदा अगुएरो खेलको ७७औं मिनेटमा सब्सिच्युट भएका थिए । अगुएरोले च्याम्पियन्स लिगमा भोलि हुने खेलसँगै प्रिमियर लिगमा न्युक्यास्टल, बर्नली र युनाइटेडसँगको खेल गुमाउने छन् । त्यस्तै, उनले डिसेम्बर ११ मा च्याम्पियन्स लिगमा हुने डाइनामो जाग्रेबविरुद्धको समूह चरणको अन्तिम खेलसहित प्रिमियर लिगको अर्को एक खेल पनि गुमाउन सक्नेछन् ।

प्रकाशित मिति ९ मंसिर २०७६, सोमबार १९:०७
Loading...