भारतद्वारा अन्तिम समयमा आएर साग फुटबल नखेल्ने निर्णय

काठमाडौं, मंसिर ९
नेपालमा हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भारतले पुरुष फुटबलमा सहभागिता नजनाउने निर्णय गरेको छ । प्रतियोगिताका ‘टाई’समेत सार्वजनिक गरिसकिएको अवस्थामा भारतले अन्तिम समयमा आएर साग फुटबलमा आफ्नो टोली नहुने निर्णयबारे आयोजकलाई जानकारी गराएको छ ।

भारतीय ओलम्पिक कमिटीले यसअघि पुरुष फुटबल र महिला फुटबलमा सहभागिता जनाउने निर्णय गरे पनि अन्तिम समयमा आएर पुरुष फुटबल प्रतियोगिता नखेल्ने भएको हो । महिला टोलीले भने खेल्नेछ ।

दुई दिनअघि मात्रै साग आयोजकले आयोजकले पुरुष फुटबलतर्फको ड्र सार्वजनिक गरेको थियो । जसमा समूह ‘ए’मा नेपालसहित बंगलादेश र भुटान थए भने समूह ‘बी’ मा भारतसँगै मालिदभ्स र श्रीलंका थिए ।

भारतको ओलम्पिक कमिटीले औपचारिक निर्णय गर्दै भारतीय टोलीले पुरुष फुटबलमा सभागिता जनाउन नसक्ने पुष्टि गरेको छ । भारतको फुटबल महासंघले घरेलु लिग र अन्य प्रतियोगिताका कारण आफ्नो टोली साग खेल्न उपस्थिति नहुने जनाएको छ ।

साग फुटबल फिफाको वार्षिक क्यालेन्डरमा नपर्ने हुँदा र क्लबले पनि खेलाडी छाड्न नमानेका कारण आफूहरूले टोली पठाउन नसकेको जनाएको छ । फिफाको नियमअनुसार यदि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितालाई मान्यता दिएको भए मात्रै क्लबले खेलाडी छाड्नैपर्ने बाध्यता हुन्छ । अन्यथा उनीहरूले खेलाडी नछाड्न पाउँछन् । साग फुटबललाई फिफाअन्तर्गतको औपचारिक प्रतियोगिता मानिँदैन ।

भारत दक्षिण एसियाली क्षेत्रको सबैभन्दा बलियो टोली हो । यसअघि सन् २०१६ मा भएको १६औं संस्करणमा नेपालले भारतलाई उसकै भूमिमा हराएर फुटबलको स्वर्ण जितेको थियो ।

प्रकाशित मिति ९ मंसिर २०७६, सोमबार १७:५०
Loading...