रियल मड्रिडको प्रभावशाली जित : बार्सिलोनामाथि दबाब कायमै

काठमाडौं, मंसिर ७
स्पेनिस ला लिगा फुटबलमा पछिल्ला खेलमा उत्कृष्ट लयमा फर्किएको रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । आफ्नो घरेलु मैदान सान्टियागो बेर्नाबेउमा गत राति रियलले पाहुना टोली रियल सोसिडाडसँग पछि परेको अवस्था उल्टाएर ३–१ को जित निकाल्न सफल भयो ।

रियल आफ्नो घरमा खेलको दोस्रो मिनेटमै गोल खाएर पछि परेको थियो । रियलका गोलकिपर थिबाउट कोर्टुवालाई सोसिडाडका विलियन जोसेले बिट गरेर सहजै गोल गर्दै घरेलु टोलीविरुद्ध ०–१ को अग्रता दिलाएका थिए ।

तर, खेलको ३७औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले बक्सभित्र छातीले बललाई पोस्टको दिशा दिएपछि रियल खेलमा फर्कियो ।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै रियलका लागि फेडे भाल्भर्डेले निकै शानदार गोल गरे । बक्स नजिकबाट उनले हानेको कडा प्रहार रिफ्लेक्ट हुँदै पोस्टको बीचमा जाली चुमेपछि खेलमा रियलले अग्रता लियो ।

त्यसपछि खेलको ७४औं मिनेटमा रियलका लागि लुका मोड्रिकले निकै शानदार गोल गरे । उनले बेन्जमाको पासमा हानेको शक्तिशाली प्रहारले पोलको कर्नर च्याप्दै जाली चुमेपछि खेल रियलले ३–१ ले जित्यो ।

यो जितसँगै रियलले १३ खेलबाट २८ अंक जोडेको छ । र, उसले बार्सिलोनामाथि दबाब कायमै राखेको छ । रियल र बार्सिलोना दुवैको समान खेलपछि समान २८–२८ अंक छ । तर, गोलअन्तरमा बार्सिलोना शीर्ष स्थानमा छ । पराजित सोसिडाड १४ खेलपछि २३ अंक बनाएर पाँचौं स्थानमा छ ।

प्रकाशित मिति ८ मंसिर २०७६, आईतवार ०८:२५
Loading...