चेल्सीमाथि म्यानचेस्टर सिटीको कमब्याक जित

काठमाडौं, मंसिर ८
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि कमब्याक जित निकालेको छ । गत राति भएको लिगको १३औं खेलमा सिटीले आफ्नो घरमा पाहुना टोली चेल्सीमाथि २–१ को जित निकाल्न सफल भयो । यससँगै सिटीले लिगमा लगातर तेस्रो जित दर्ता गरेको छ ।

खेलमा अग्रता भने चेल्सीले लिएको थियो । चेल्सीले खेलको २१औं मिनेटमा कान्टेको गोलबाट अग्रता लिएको थियो । तर, सो अग्रता धेरैबेर टिकेन । खेलको २९औं मिनेटमा सिटीका लागि केभिन डे ब्रुयानले गोल गर्दै खेल १–१ बनाए ।

फेरि खेलको ३७औं मिनेटमा सिटीका लागि रियाद महारेजले बक्सभित्र छलाउँदै सुन्दर गोल गरेपछि पहिलो हाफमा सिटीले २–१ को अग्रता लियो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि खेल सिटीले २–१ ले जित्यो ।

अब यो जितपछि सिटी १३ खेलपछि २८ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । लेस्टर सिटी २९ अंकसहित दोस्रोमा छ भने लिभरपुल ३७ अंकसहित शीर्ष स्थानमा छ । पराजित चेल्सी २६ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति ८ मंसिर २०७६, आईतवार ०७:४३
Loading...