फर्मिन्होको निर्णायक गोलमा लिभरपुलको जित : सिटीले पनि जित्यो

काठमाडौं, मंसिर ७
इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले अर्को जित निकालेको छ । शनिबार भएको लिगको १३औं खेलमा लिभरपुलले अवे मैदानमा क्रिस्टल प्यालेसलाई १–२ हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा घरेलु टोली प्यालेसले १ गोल गरे पनि सो गोललाई मान्यता दिइएन ।

दोस्रो हाफमा थप प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलका लागि ४९औं मिनेटमा साडियो मानेले गोल गरेर घरेलु टोलीविरुद्ध ०–१ को अग्रता दिलाएका थिए । तर, खेलको ८२औं मिनेटमा प्यालेसका लागि विलफ्रिज्ड जहाले गोल गर्दै खेल १–१ बनाए ।

त्यसपछि बराबरीतर्फ अघि बढेको खेलमा ३ मिनेटपछि नै लिभरपुलका लागि रोवर्ट फर्मिन्होले विजयी गोल गरे । कर्नर किकबाट आएको बल प्यालेसले बक्समा क्लियर गर्न नसक्दा फर्मिन्होले गोल गरेका थिए । उनको गोलपछि खेल लिभरपुलले १–२ ले जित्यो ।

यो जितपछि लिभरपुलले अंक तालिकाको शीर्ष स्थानमा पकड कायमै राखेको छ । उसले १३ खेलबाट ३७ अंक बनाएको छ । पराजित प्यालेसको खातामा १५ अंक छ ।

शनिबारै भएको अर्को खेलमा लेस्टर सिटीले ब्राइटनलाई ०–२ ले हरायो । लेस्टरको जितमा अज्योज पेरेजले ६४औं मिनेटमा गोल गरे भने ८२औं मिनेटमा जिमी भर्डीले पेनाल्टीमार्फत् गोल गरे । यो जितपछि लेस्टरले पनि दोस्रो स्थान अग्रता कायमै राखेको छ । उसको खातामा २९ अंक छ ।

अन्य खेलमा आर्सनल आफ्नो घरमा साउथह्यामपटनसँग २–२ को बराबरीमा रोकियो भने बर्नलीले वाटफोर्डलाई उसकै घरमा ०–३ ले हरायो । अर्को खेलमा बोर्नेमाउथलाई उल्भ्सले उसकै घरमा १–२ ले हरायो । त्यस्तै, अर्को खेलमा नर्विच सिटीले एभर्टनलाई उसकै घरमा ०–२ ले भावुक बनायो ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार २२:५४
Loading...