बुन्डेसलिगमा बार्यन म्युनिखको शानदार जित

काठमाडौं, मंसिर ७
जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युुनिखले प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको लिगको १२औं खेलमा बार्यनले फोर्टुनालाई उसकै घरेलु मैदानमा ०–४ को हार चखायो ।

अवे मैदानमा बार्यनलाई जिताउन ४ जना फरक–फक खेलाडीले गोल गरे । बार्यनले पहिलो हाफमा ०–३ को अग्रता लिएको थियो । जहाँ पहिलो खेलको ११औं मिनेटमा बेन्जामिन पाभार्डले गरे भने २७औं मिनेटमा कारेन्टिन टोलिसोले दोस्रो गोल गरे ।

त्यसपछि खेलको ३४औं मिनेटमा सेर्गे ज्नाब्रीले अर्को गोल थपेपछि पहिलो हाफमा बार्यनले ०–३ को सहज अग्रता बनायो । त्यसपछि दोस्रो हाफमा बार्यनले १ गोल थप्यो । सो गोल खेलको ७०औं मिनेटमा फिलिपे कोउटिन्होले गरे । बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बार्यनले ०–४ ले जित्यो ।

यो जितपछि बार्यन १२ खेलबाट २४ अंक बनाएर शीर्ष टोली मोन्चेङ्लाबाकसँग अंक दूरी १ मा झारेको छ । शनिबारै भएको आफ्नो खेलमा मोन्चेङ्लाबाक युनियन बर्लिनसँग २–० ले हारेपछि त्यसको फाइदा बार्यनलाई पुगेको हो ।

यो पराजयपछि पनि मोन्चेङ्लाबाक २५ अंकसहित शीर्ष स्थानमा कायम छ भने बार्यन २४ अंकसहित दोस्रोमा छ ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार २२:१८
Loading...