हिगुइन चम्किँदा युभेन्टसको प्रभावशाली कमब्याक जित : अपराजित यात्रा कायमै

काठमाडौं, मंसिर ७
अर्जेन्टिनी फरवार्डद्वय गोन्जाले हिगुइन र पाउलो डिबाला चम्किँदा युभेन्टसले घरेलु लिग सिरी ‘ए’ फुटबलमा प्रभावशाली कमब्याक जित निकालेको छ । शनिबार राति सुपरस्टार क्रिस्टियानो रोनाल्डोलोबिनै अवे मैदानमा उत्रिएको युभेन्टसले एट्लान्टालाई उसकै घरमा १–३ ले निराश बनायो ।

चोटका कारण रोनाल्डो यस खेलमा थिएनन् । तर, हिगुइनले रोनाल्डोको अभाव हुन नदिँदा युभेन्टसले महत्त्वपर्ण ३ अंक मात्रै जोडेन, युरोपियन टप–५ लिगमा एक्लो अपराजित यात्रा पनि कायमै राख्न सफल भएको छ ।

एट्लान्टले खेलको १७औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, मुसा ब्यारोको पेनाल्टी बारमा लागेर फर्किएको थियो । रि–बाउन्ड प्रहार आकासिएपछि घरेलु टोली गोल गर्नबाट चुकेको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा दुवै पक्षबाट गरी ४ गोल भए । खेलको ५६औं मिनेटमा एट्लान्टाले रोबिन गोसेन्सको गोलबाट अग्रता लिएको थियो । उनले बक्स भित्रबाट निकै सुन्दर हेडिङ गोल गरेका थिए ।

गोल खाएर दबाबमा परेको युभेन्टस खेलको ७४औं मिनेटमा खेलमा फर्कियो । जहाँ हिगुइनले बक्सभित्र मिरेलाम पियानिचको पासमा विपक्षी डिफेन्डरका बीचबाट गोल गरे । त्यसको ८ मिनेटमै हिगुइनले नै व्यक्तिगत दोस्रो गोल गरे । सो गोलको मुभ बन्नेक्रममा काउडराडोले ह्यान्ड बल गरे पनि रेफ्रीले नदेख्दा युभेन्टसले गोल पायो । रेफ्रीले त्यसमा भिएआरसमेत प्रयोग गरेनन् ।

त्यसपछि खेलको इन्जुरी समयमा पाउलो डिबालाले निकै सुन्दर गोल गरे । उनले बक्स क्षेत्रबाट सुन्दर ढंगले बल छलाउँदै हानेको लो प्रहारले सोझै जाली चुमेपछि खेल युभेन्टसले १–३ ले जित्यो ।

यो जितपछि युभेन्सले १३ खेलमा अपराजित रहँदै कूल ३५ अंक बनाएको छ । ऊ शीर्ष स्थानमा छ । युभेन्टस एक खेल कम खेलेको इन्टर मिलानभन्दा ४ अंकले अघि छ । पराजित एट्लान्ट भने समान खेलबाट २२ अंकसहित छैटौं स्थानमा छ ।

यो सिजन युभेन्टस एक मात्रै यस्तो टिम हो, जसले युरोपका टप–५ लिगमा आजसम्म सबैखाले प्रतियोगितामा गरी एक खेल पनि हारेको छैन ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार २१:५०
Loading...