जितसहित टोटनह्यामले गर्‍यो मोउरिन्होको स्वागत : टुंगियो जितविहीन यात्रा

काठमाडौं, मंसिर ७
इंलिग्स क्लब टोटनह्यामले आफ्नो नयाँ प्रशिक्षक जोसे मोउरिन्होलाई जितसहित स्वागत गरेको छ । मोउरिन्होको नेतृत्वमा पहिलो खेल खेल्न वेस्ट ह्यामको घरेलु मैदान पुगेको टोटनह्यामले घरेलु टोलीलाई २–३ ले स्तब्ध बनायो ।

टोटनह्यामले अवे मैदानमा ४९औं मिनेटमा ०–३ को सहज अग्रता लिए पनि त्यसपछि गोल खाँदा नतिजा खुम्चिएको थियो । टोटनह्यामका लागि दक्षिण कोरियन खेलाडी सन हेङ–मिनले ३६औं मिनेटमा सुन्दर गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४३औं मिनेटमा लुकास मोउराले गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा ०–२ को अग्रता बनायो । त्यसपछि दोस्रो हाफ सुरु हुनसाथ खेलको ४९औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटनह्यामले वेस्ट ह्यामविरुद्ध ०–३ को फराकिलो अग्रता लएको थियो ।

तर, दोस्रो हाफमा वेस्ट ह्यामले खेलमा फर्किने संकेत देखायो । खेलको ७३औं मिनेटमा मिकेल एन्टोनिओले गोल गर्दै खेल १–३ बनाए । त्यसपछि पनि घरेलु टोलीले गोल गरेको थियो । तर, सो गोल भिएआरबाट रद्द हुँदा घरेलु टोलीलाई झट्का लाग्यो ।

त्यसपछि खेलको इन्जुरी समय ९६औं मिनेटमा वेस्ट ह्यामका लागि एन्जेलो ओग्बोनाले गोल गरे पनि टिमको हार टार्न सकेनन् । र, खेल टोटनह्यामले २–३ ले जित्यो ।

यो जितपछि टोटनह्यामले पाँच खेलसम्मको जितविहीन यात्रा पनि टुंगाएको छ । यसअघि टोटनह्याम अघिल्ला प्रशिक्षक मोउरिसयो पोचेटिनोको नेतृत्वमा लगातार पाँच खेलसम्म जितविहीन बनेको थियो । तर, मोउरिन्होले टोली सम्हालेपछि टिमले पहिलो खेलमै जित निकाल्यो ।

यो जितपछि टोटनह्यामले (आज राति हुने अन्य खेलअघिसम्म) अंक तालिकामा एकैपटक ८ स्थान सुधार गरेको छ । यो खेलअघि १४औं स्थानमा रहेको टोटनह्याम वेस्ट ह्यामलाई हराएसँगै १३ खेलबाट १७ अंक बनाएर एकैपटक छैटौं स्थानमा चढेको छ । तर, आज रातिका अन्य टोलीका खेलपछि उसको स्थान तल–माथि हुनेछ । यता, पराजित वेस्ट ह्याम भने १३ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार २०:३८
Loading...