टोटनह्याममा मोउरिन्होको परीक्षा आज : पहिलो खेलमा के गर्लान् ?

काठमाडौं, मंसिर ७
इंग्लिस क्लब टोटनह्यामले नयाँ प्रशिक्षक जोेसे मोउरिन्होको नेतृत्वमा आज पहिलो खेल खेल्दैछ । लिगको १३औं खेल अवे मैदानमा वेस्ट ह्यामविरुद्ध खेल्दा टोटनह्यामको टच लाइनमा नयाँ अनुहार हुनेछ– मोउरिन्होको ।

तीन दिअघि मात्रै क्लबको नयाँ प्रशिक्षकमा नियुक्त भएका पोर्चुगिज मोउरिन्होले आज टोटनह्यामलाई पहिलो खेल खेलाउँदा नतिजा कस्तो आउँछ भन्ने धेरैलाई चासो छ । विगतमा प्रिमियर लिगकै चेल्सी र म्यानचेस्टर युनाटेडलाई समेत प्रशिक्षण गरिसकेका उनका लागि सोही लिगमा यो तेस्रो क्लब हो ।

टोटनह्यामले आफ्नो टिम प्रिमियर लिगमा खराब अवस्थामा रहेपछि प्रशिक्षक माउरिसियो पोचेटिनोलाई पदमुक्त गरेर मोउरिन्होलाई नयाँ प्रशिक्षक बनाएको थियो । मोउरिन्होको नेतृत्वमा टोटनह्यामले राम्रो नतिजा निकाल्ने अपेक्षा छ ।

टोटनह्याम हाल लिगमा १२ खेलपछि मात्रै १४ अंक बनाएर लिगको १४औं स्थानमा छ । उसले यो सिजन मात्रै ३ खेल जितेर ५ खेल बराबरी गरेको छ भने ४ खेल हारेको छ ।

आज नयाँ क्लबमा पहिलो खेल अवे मैदानमा खेल्दा मोउरिन्होमाथि दबाब हुनेछ । पहिलो खेल उनका लागि परीक्षासरह हुनेछ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार १५:१३
Loading...