रोनाल्डोमाथि कहिल्यै शंका नगर्नुहोस्, उनी लयमा फर्किन्छन् : ड्यानिलो

एजेन्सी, मंसिर ६
इटालियन क्लब युभेन्टसका ब्राजिलियन डिफेन्डर ड्यानिलोले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोको प्रशंसा गर्दै उनले सधैं टिमका लागि शतप्रशित दिने बताएका छन् । विगतमा स्पेनिस रियल मड्रिडमा समेत सँगै खेलेका यी दुई खेलाडी समयक्रमसँगै अहिले इटालीमा पुनः सहकर्मी बनेका छन् ।

युभेन्टसले शनिबार घरेलु लिगमा एट्लान्टासँग खेल्नुअघि एक अन्तर्वार्तामा बोल्दै ड्यानिलोले यो बताएका छन् कि, रोनाल्डोले आफ्नो बढ्दो उमेरका बीच पनि टिमलाई सबथोक दिइरहेका छन् । ‘रोनाल्डो अविश्वसनीय छन् । उनले खेलेका सबै क्लबमा जितेका छन् र इतिहास रचेका छन् । मलाई लाग्छ– उनले आफ्नो टिमलाई सधैं १०० प्रतिशत दिन्छन्,’ ड्यानिलोले भने ।

ड्यानिलोले आफूले रोनाल्डोलाई राम्रोसँग जानेको बताउँदै उनले केही समय गोल नगर्दैमा फेरि गर्न सक्दैनन् भन्ने बुझाइ गलत रहेको बताए । उनले रोनाल्डोले गोल गर्न थालेपछि शानदार लयमा फर्किने पनि बताए । ‘म उनलाई निकै राम्रोसँग जान्दछु । उनी कहिलेकाहीं गोलको खडेरीमा रहन सक्छन् । तर, सधैं रहन सक्दैनन्,’ ड्यानिलोले भने, ‘उनीमाथि शंका नगर्नुहोस्, जब उनी गोल थाल्छन्, गरिरहन्छन् ।’

ड्यानिलोले रोनाल्डो अहिले राष्ट्रिय टिमबाट उच्च मनोबलका साथ युभेन्टस आएकाले अब उनले क्लबमा पनि राम्रो गर्ने बताए । ‘यदि उनी पोर्चुगलमा छन् भने त्यहींको बारेमा मात्रै सोच्छन् । राष्ट्रिय टिममा शानदार प्रदर्शन गरेर उनी यहाँ आएका छन् । र, अब उनले आगामी खेलबाट आफ्नो लय समात्नेमा म ढुक्क छु,’ ड्यानिलोले थपे ।

ड्यानिलोले प्रशिक्षक सार्रीले युभेन्टसमा नयाँ शैली विकास गर्न खोजिरहेको पनि बताएका छन् । ‘अहिले हामी उत्कृष्ट लयमा छैनौं । तर, आजसम्म हारेका छैनौं । सार्री टिमको खेल शैलीमा केही नयाँ कुरा ल्याउन खोजिरहेका छन्,’ ड्यानिलोले भने, ‘उनी अहिले जे गर्न खोजिरहेका छन्, त्यो राम्रो छ । म उनमा ग्वार्डिओला (म्यानचेस्टर सिटीका प्रशिक्षक) को झल्को पाउँछु ।’

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १४:१५
Loading...