बर्खास्तीमा परेका पोचेटिनोले ‘ट्याक्टिस बोर्ड’मा छाडे भावुक बिदाइ सन्देश

एजेन्सी, मंसिर ६
मंगलबार बर्खास्तीमा परेका इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्ना खेलाडी, अफिसियल तथा फ्यानहरूका नाममा निकै भावुक सन्देश छाडेका छन् । अर्जेन्टिनी म्यानेजर उनलाई टोटनह्यामले दुई दिनअघि मात्रै पदमुक्त गरेको थियो । अहिले उनको स्थानमा म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे मोउरिन्हो नियुक्त भइसकेका छन् । पोचेटिनोसहित ३ जनाको कोचिङ स्टाफले एकसाथ क्लब छाडेका थिए ।

क्लबाट बर्खास्तीमा परेका पोचेटिनाले क्लबको प्रशिक्षण हलमा रहेको ‘ट्याक्टिस बोर्ड’मा मार्कर पेनले निकै भावुक सन्देश लेखेर बिदा भएका छन् । इंग्लिस मिडियाले पोचेटिनोले बोर्डमा सन्देश लेख्दै गरेको र लेखिसकेको सन्देशसहितको तस्बिर छापेका छन् ।

पोचेटिनोले ट्याक्टिस बोर्डमा खेल मैदानको चित्र बनाएर त्यसभित्र आफ्नो सन्देश आफैंले लेखेका छन्, जुन निकै भावनात्मक देखिन्छ । पोचेटिनोले सन्देशमा लेखेका छन्–

‘सबैलाई धेरै–धेरै धन्यवाद !
हामी गुड बाई भन्न सक्दैनौं….. तपाईंहरू सधैं हाम्रो दिलमा रहनुहुनेछ ।’

यति लेखेपछि उनले बोर्डमै आफ्नो हस्ताक्षर गरेका छन् । अहिले विभिन्न सामाजिक सन्जालमा पोचेटिनोको सो बिदाइ सन्देशलाई फुटबप्रेमीहरूले पोस्ट तथा सेयर गरिरहेका छन् । उनीहरूले पोचेटिनो टोटनह्यामका लागि एक शानदार प्रशिक्षक र रहेको र उनले गुमनामजस्तै रहेको टिमलाई विश्वस्तरको टिम बनाएर छाडेको भन्दै तारिफ गरेका छन् । फ्यानहरूले उनलाई उज्ज्वल भवियका लागि शुभकामनासमेत दिएका छन् ।

४७ वर्षीय पोचेटिनो सन् २०१४ मा साउथह्यामपटनबाट टोटनह्यामको प्रमुख प्रशिक्षक बनेर पुगेका थिए । उनले टोटनह्याममा ५ वर्ष बिताए । उनी अर्जेन्टिनाका प्रशिक्षक हुन् ।

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार ११:४८
Loading...