एमबाप्पे भित्र्याउन युभेन्टसले थाल्यो ‘अप्रेसन एमबाप्पे’ अभियान

एजेन्सी, मंसिर ५
स्पेनको क्लब रियल मड्रिड गत सिजनबाट फ्रेन्च क्लब पिएसजीबाट युवा फरवार्ड केलियन एमबाप्पे अनुबन्ध गर्ने प्रयासमा छ । अझै पनि रियल यस कुरामा ढुक्क छ कि, एबमबाप्पे ढिलो–चाँडो रियल मड्रिड आउनेछन् । रियल विश्वकपविजेता २० वर्षीय युवा खेलाडी भित्र्याएर १० वर्ष सुरक्षित हुन चाहन्छ ।

तर, रियललाई ओभरटेक गर्दै इटालीको क्लब युभेन्टस पनि एमबाप्पे भित्र्याउन हात धोएर लाग्ने भएको छ । युभेन्टसले आगामी समरमा फ्रेन्च खेलाडी भित्र्याउन विशेष योजना बनाएको इटालीको प्रतिष्ठित पत्रिका ‘टुटो स्पोर्टस्’ ले फ्रन्ट पेजमै महत्त्वसाथ खबर छापेको छ ।

युभेन्टस यस कुरामा विश्वस्त छ कि, एमबाप्पेको भविष्य रियलमा भन्दा युभेन्टसमा छ भन्ने कुरामा उनलाई विश्वास दिलाउन सफल हुनेछ । अर्को कुरा भनेको, एमबाप्पेले आफ्ना आदर्श मान्ने क्रिस्टियानो रोनाल्डो पनि युभेन्टसमै रहेकाले एमबाप्पे इटाली सर्न राजी हुने युभेन्टसको अपेक्षा छ ।

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार २१:३८
Loading...