क्यासिल्लासको आक्रोश– ‘रोनाल्डो बालोन डि‘ओरको मनोनयनमै पर्नु हुँदैन’

एजेन्सी, मंसिर ५
स्पेनको राष्ट्रिय टिम, क्लब रियल मड्रिडका लिजेन्ड तथा हाल पोर्चुगिज क्लब पोर्टोका गोलकिपर इकर क्यासिल्लासले विश्व फुटबलको प्रतिष्ठित बालोन डि‘ओर अवार्ड वितरण र घोषणा प्रक्रियाबारे चर्को असन्तुष्टि पोखेका छन् । उनी मुटु रोगबाट ठीक भएर हालै क्लब फर्किएका छन् । उनले हालै एक अन्तर्वार्तामा बोल्दै बालोन डि‘ओर दिने विधि आलोचना र टिप्पणी गर्न लायक रहेको बताएका छन् ।

यस वर्षको बालोन डि‘ओर कसले जित्न सक्छ भन्ने विषयमा धारणा राख्दै उनले यो बताएका छन् कि, यदि हालको छनौट विधि र तरिका सही छ भने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो मनोनयनमै पर्न हुँदैनन् । उनले वर्ष २०१८ को बालोन डि‘ओरका लागि रोनाल्डो शतप्रशित हकदार भए पनि अन्तिममा लुका मोड्रिकले जित्दा अवार्डको ठूलो अपमान भएको पनि बताए ।

‘यो मेरो व्यक्तिगत धारणा हो । २०१८ मा रोनाल्डोले यो अवार्ड जित्दैनन् भने २०१९ मा उनी मनोनयनमै पर्नु हुँदैन । यदि अवार्डको घोषणा विधि ठीक छ भने यस वर्ष यो अवार्ड जसले जिते पनि हुन्छ । मलाई लाग्छ– यसले आधार र विश्वासनियता गुमाउँदै गएको छ । गत वर्ष रोनाल्डोले नजित्नु ठूलो मजाक थियो,’ क्यासिल्लासले भनेका छन् ।

क्यासिल्लासले पछिल्ला वर्ष बालोन डि‘ओर कसलाई दिने भन्नेमै ठूलो अस्पष्टता बढेको पनि बताए । ‘मलाई सोध्नुहुन्छ भने यो अवार्ड कसलाई दिइन्छ वा कस्ता खेलाडीलाई दिइन्छ भन्ने विधि नै स्पष्ट छैन । जसले पनि जित्न सक्छ । आयोजकलाई मेरो प्रश्न छ– बालोन डि‘ओर कस्ता खेलाडीलाई दिइन्छ ?,’ उनले प्रश्न गरे ।

क्यासिल्लासले यो बताएका छन् कि, अवार्ड व्यक्तिगत रूपमा खेलाडीको प्रदर्शनलाई आधार मान्ने कि खेलाडीको उपाधि संख्या वा टिमको सफलतालाई आधार मान्ने भन्नेमा अन्योल बढेको छ । ‘यो अवार्डको अर्थ व्यक्तिगत रूपमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई दिइनु हो जस्तो लाग्छ । तर, गत वर्ष यसलाई मजाक बनाइयो । अहिले खेलाडीको प्रदर्शन भन्दा पनि उपाधिलाई पहिलो आधार मानेको देखिन्छ । यसरी टिमको सफलता हेर्दा कोही खेलाडीको व्यक्तिगत क्षमता, मेहनत र योगदान छायाँमा पर्नु ठूलो धोका हो,’ क्यासिल्लासले थपे ।

रियलमा छँदा रोनाल्डो र क्यासिल्लास निकै नजिकका साथी थिए । उनीहरूबीच अहिले पनि भावनात्मक सम्बन्ध निकै सुमधुर छ । रोनाल्डोलाई आफ्नो करिअरकै सबैभन्दा मिलनसार सहकर्मी मान्ने क्यासिल्लासले यस वर्ष यदि व्यक्तिगत प्रदर्शनलाई आधार मानेर बालोन डि‘ओर दिइन्छ भने रोनाल्डो मनोनयनमै पर्न नहुने बताए । तर, यदि खेलाडीले पाएको सफलता र टिमको उपाधिलाई आधार मानिन्छ भने यसपटक रोनाल्डाले नजिते फेरि अर्को मजाक हुने बताए । ‘तपाईं व्यक्तिगत प्रदर्शनलाई आधार मान्नुहुन्छ भने यसपटक रोनाल्डो मनोनयनमा पर्नु हुँदैनथियो,’ क्यासिल्लाले भने, ‘तर, यदि खेलाडीको उपलब्धि र टिमको सफलतालाई आधार मान्नुहुन्छ भने यसपटक रोनाल्डोबाहेक अन्य खेलाडीले जिते अर्को मजाक हुनेछ ।’

क्यासिल्लासले यस वर्ष व्यक्तिगत रूपमा दिइने ठूला अवार्ड घोषणा र वितरणमा विधि तथा नतिजा एकदमै भिन्नता देखिएको बताउँदै यदि रोनाल्डोले बालोन डि‘ओर जिते व्यक्तिगत अवार्डको विधि र औचित्यमा ठूलो बहस हुने बताए । ‘मार्सा’सँगको अन्तर्वार्तापछि सामाजिक सन्जाल ट्वीटरमा उनले लेखका छन्–

‘भर्जिल भान डाइक युइएफए उत्कृष्ट खेलाडीका रूपमा छानिए । मेस्सी फिफाद्वारा उत्कृष्ट खेलाडी छानिए । अब यदि क्रिस्टियानोले बालोन डि‘ओर जिते भने मेरा लागि व्यक्तिगत अवार्ड निर्धारण तथा वितरणमा हामीले प्रयोग गर्ने आधार र विधि तार्किक छैनन्, यो खेलाडी र फुटबलका लागि एउटा खराब चिज हुनेछ ।’

प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार १९:२८
Loading...